
नेपाल–भारत सिमाना अन्तर्गत सर्लाहीका विभिन्न नाकाहरुमा हुने मालसामानहरुको अवैध ओसार पसारमा बालबालिकाहरुको प्रयोग व्यापक हुने गरेको देखिएको छ ।
मलंगवा–सोनवर्षासहित त्रिभुवननगर ,पर्सा, नारायणपुर, संग्रामपुर, बहादुरपुर, पकडी फेन्हारा सिमरा लगायतका नाकाहरुबाट हुने अवैध ओसारपसारमा ८ देखि १५ वर्ष उमेर सम्मका बालबालिकाहरुको प्रयोग हुने गरेको देखिएको छ । यी नाकाहरु भएर पेशेवर तस्कर तथा व्यापारीहरु विद्यालय जाने उमेरका बालबालिकाहरुलाई भन्सार छलिका सामानहरु ओसारपसार गर्न केरियरको रुपमा प्रयोग गर्ने गरेका छन्। अवैध रुपमा सरसामानको ओसारपसारमा महिलाहरुको पनि प्रयोग हुने गरेको छ । तस्कर तथा ब्यापारीहरु केरियरको रुपमा काम गर्ने बालबालिका र महिलाहरुलाई दैनिक ढुवानी बापतको रकम दिएर दुवैतर्फका गोदाममा सामान भण्डारण गर्न लगाउने गरेका छन् । थोरै थोरै गरी सामानहरु गोदाममा जम्मा भइसकेपछि गाडीमा लोड गरेर गन्तव्यसम्म पु–याउने काम हुने गरेको छ ।
अहिले सयौंको संख्यामा बालबालिका तथा महिलाहरू यो काममा परिचालन गरिएको छ । बालबालिकाहरुलाई प्रति ट्रिप ५० रुपैया भारु र महिलाहरुलाई सामानको मात्रा अनुसार ढुवानी बापत रकम दिइने गरेको बुझिएको छ । सीमामा खटिएका सुरक्षाकर्मीहरूले बालबालिकालाई खासै दुःख नदिने गरेको कारण तस्करहरूले उनीहरूको प्रयोग गरेका हुन् । विद्यालय बन्द भएको अवस्थामा कतिपय विद्यार्थीहरू यो काममा परिचालित हुने गरेका छन् भने आर्थिक अवस्था कमजोर भएका बालबालिकाका अभिभावक स्वयंले आफ्ना छोराछोरीलाई यस्तो कार्यमा लगाउने गरेको श्रोतले बताएको छ। दैनिक २–३ ट्रिपसम्म सीमा वारिपारि गर्ने र सोअनुरूप रकम कमाउने हुनाले उनीहरूको आकर्षण यसतर्फ बढेको छ । अधिकांश बालबालिकाहरु मुख्य नाका अथवा मानिसहरुको बढी हिंडडुल हुने ठाउँबाट नभइ खेत र आलीको बाटोमा बस्तुभाउ चराउने बहानामा अवैध तरिकाले भारतीय सामानहरु ल्याउने गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
नेपाली ब्यापारीहरु भारतीय सुरक्षाकर्मी(एसएसबी),नेपाली सुरक्षाकर्मी र भन्सार शुल्कका कारण भारतीय सरसामान नेपाल भित्र्याउनका लागि सिमानाका नजिकै बसोबास गर्ने बालबालिका तथा महिलाहरुको प्रयोग गर्ने गरेका छन् । उनीहरू सामानहरुको स–साना पोकाहरु बनाएर हातमा र टाउकोमा बोकेर ल्याउने गरेका छ । बालबालिकाको क्षेत्रमा कार्यरत सर्लाही जिल्लाका विभिन्न संघसंस्थाहरु पटकपटक गरिब,विपन्न तथा पिछडिएका बालबालिकाहरुलाई आवश्यक काँपी, कलम, किताब, पोसाक, छात्रवृत्ति वितरण गरेर विद्यालय जाने वातावरण बनाइदिए पनि केही दिन पढ्ने र पछि फेरि त्यही काममा लाग्ने गरेको पाइएको छ ।
ग्रामीण भेगमा बसोबास गर्ने आर्थिक रुपमा कमजोर रहेका घरका अभिभावकहरु पढाइ लेखाइको महत्वलाई नबुझेर लेखपढ गरेर के हुन्छ, काम गरे दुई चार पैसा घरमा आउँछ भन्ने सोचले गर्दा पनि आफ्ना छोराछोरीलाई बाल मजदुरीमा लगाउने गरेको मानवअधिकार रक्षक संजालका सर्लाही जिल्ला अध्यक्ष मुकेश मिश्रले बताए । उनी सानो उमेर देखिनै अवैध काममा लागेका बालबालिकाहरु पछि गएर ठूलो अपराधी बन्ने सम्भावना बढी रहेकाले यस्ता गलत कामबाट बचाउन सीमा नाकामा खटिएका सुरक्षाकर्मीहरुले उनीहरूमाथि निगरानी बढाउनु पर्ने उनलेबताए ।