अपडेट 
२०८० भाद्र ८, शुक्रबार ११:०६

कोशी, बाग्मती, महाकालीसहित देशका धेरै नदी तथा खोलामा बाढीको जोखिम बढेको छ । जलसतह बढेपछि यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाग्मती नदीका कारण रौतहट र सर्लाहीमा जोखिम बढेपछि उच्च सतर्कता अपनाउन भनिएको छ । बाँकेको खजुरा र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेको छ ।

 

बाँके, बर्दिया र कैलाली भइ बग्ने साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

कैलालीको टीकापुर, चिसापानी, लमजुङ, ओखलढुङ्गा, सिन्धुली, सिरहालगायत क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । त्यहाँका नदी तथा खोलामा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ । त्यस्तै, बेसिसहर चामे सडक खण्डमा पहिरोको उच्च जोखिम छ ।

ओखलढुङ्गामा जलसतहले सतर्कता तह पार गरेको र यो बढ्दो क्रममा रहेकाले दुधकोशी र सुनकोशी दोभानसम्मको नदी तटीय क्षेत्रहरूमा बिहान १० बजेसम्म नै उच्च सतर्कता अपनाउन भनिएको छ । उदयपुर, सिन्धुली र धनुषाको तटीय क्षेत्रलगायत डुबान भइरहने होचा ठाउँहरुमा पनि आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक बन्द भएको छ । हेलम्बु–४ को सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएकोे छ ।

कक्षाकोठा पनि जोखिममा परेका हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिनुभयो । सरस्वती माध्यमिक विद्यालयमा आज पठनपाठन नहुने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News