
सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवलाई भ्रष्टाचारको एक प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
आयोगले घुस प्रकरणमा अध्यक्ष यादवलाई अनुसन्धानका लागि तानेपछि उनको गृह जिल्लामा निकै चासो र चर्चाको विषय बनेको छ । अध्यक्ष यादवलाई घुस सम्बन्धी विषयमा आयोगले सोधपुछ र अनुसन्धानका लागि बुधबारनै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।
आयोगले नियन्त्रणमा लिएपछि अचानक बिरामी परेका कारण उनलाई आयोगको सुरक्षा निगरानीमा काठमाडुस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको तथा निको भएपछि थप बयान र अनुसन्धानको काम अघि बढ्ने प्रवक्ता दाहालले जानकारी दिए ।
गत साउन ३१ गते पालिकाद्वारा जडान गराइएको सोलार बत्ती सम्बन्धी कार्यमा ठेकेदारलाई अन्तिम भुक्तानी दिने क्रममा २ लाख नगद र ३ लाख रुपैयाँको चेक लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर बिरेन्द्र यादवलाई आयोगको क्षेत्रीय कार्यालय इटहरीबाट खटेको टोलीले राजविराजको गजेन्द्र चोकस्थित एक यात्रुबाहक बसको टिकट बुकिङ काउन्टरबाट पक्राउ गरेको थियो । सोही प्रकरणमा अध्यक्ष यादवको नाउँ पनि मुछिएकाले अनुसन्धानका लागि झिकाइएको आयोग श्रोतको भनाइ छ । अनुसन्धानका क्रममा उक्त घुस प्रकरणमा अध्यक्ष यादवको पनि संलग्नता पुष्टि भए कारवाहीमा पर्नेछन् ।
यद्यपि अनुसन्धान जारी नै रहेकाले यसबारे थप कुरा भन्न नमिल्ने आयोगका प्रवक्ता दाहालले जनाए । यसअघि राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव र शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्र प्रसाद गुप्ता भ्रष्टाचारको आरोपमा निलम्बित भइसकेका छन् । दुबै जना विरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को कसुरमा कैद र जरिवानासहित विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका छन । राजविराज नगरपालिकाका प्रमुख यादवको हकमा भने केही दिन अघि मात्र विशेष अदालतले २ लाख ६४ हजार ४ सय ४ जरिवाना तोकिसकेको छ । शम्भुनाथ नगरपालिकाका मेयर गुप्ताको मुद्दा भने सुनुवाईकै क्रममा रहेको छ ।