अपडेट 
२०८० भाद्र १०, आईतवार ०७:२५

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले पेट्रोलियम व्यवसायीहरूसँग बीमा रकम उठाउने तर बीमा भने नगराउने गरेको रहस्य खुलेको छ । एसोसिएसनले बीमाको नाममा पेट्रोलियम व्यवसायीहरूसँग रकम संकलन गर्ने तर उक्त रकम बीमा कम्पनीमा जम्मा नगरी आफू खुसी खर्च गर्ने गरेको पाइएको छ ।

एसोसिएसनले क्षेत्राधिकार मिचेर अन्य बीमा कम्पनीहरूजस्तै व्यावसायिक रूपमा नेपाल आयल निगमका डिपोहरूमा इन्धन ढुवानीको बीमा गरी व्यवसायीहरूसँग रकम संकलन गरिरहेको व्यवसायीले बताएका छन् । नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम व्यवसायीले इन्धन खरिद गरी आफ्नो पम्पमा ढुवानी गर्दा इन्धनको बीमा गराउनुपर्ने व्यवस्था छ । कुनै पनि व्यवसायीले कुनै वस्तुको बीमा गराउँदा त्यसको अनलाइन भ्याटसहितको बिल पाउने गर्छन् । तर, एसोसिएसनले बिनाभ्याटको बीमा रसिद दिएर व्यवसायीहरूसँग लामो समयदेखि गैरकानुनी रूपमा बीमाको रकम उठाउँदै आएको स्वीकार गरेका छन ।

एसोसिएसनले डिपोबाट इन्धन ढुवानी गर्ने प्रत्येक ट्यांकरबाट बीमा रसिद दिएर एकपटकमा लोड गरिएको इन्धनको मूल्यअनुसार ५ सयदेखि १ हजार रुपैयाँसम्म उठाउने गरेको छ । धनुषाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपो परिसरभित्रै कार्यालय सञ्चालन गरी एसोसिएसनले इन्धन ढुवानी गर्ने धनुषा र महोत्तरीका ट्यांकरहरूबाट बीमा रकम संकलन गर्ने गरेको छ । एसोसिएसनले बिना भ्याटसहितको बीमा रसिद दिएर गैरकानुनी रूपमा रकम असुल गर्दै आएको ट्यांकर व्यवसायीहरूको आरोप छ । उक्त डिपोबाट दैनिक ३० देखि ४० वटा ट्यांकरले इन्धन ढुवानी गर्ने गरेका छन् । इन्धन ढुवानी गर्ने ट्यांकरको परिमाण हेर्दा एसोसिएसनले मासिक ५ लाखभन्दा बढी रकम महेन्द्रनगर डिपोबाट उठाइरहेको देखिन्छ ।

एसोसिएसनले बीमा रकम उठाउन खटाएका कर्मचारीहरूका अनुसार डिपो परिसरमै काउन्टर राखेर बीमाको रकम असुल गरिन्छ । एसोसिएसनले गैरकानुनी रूपमा बीमाको नाममा रकम उठाउँदै आएको रहस्य खुलेपछि व्यवसायीहरूले विरोध गरेका छन् । व्यवसायीहरुको विरोधपछि एसोसिएसनको बीमा काउन्टर डिपो परिसरबाट हटाइएको छ । डिपो परिसरबाट काउन्टर हटाइए पनि डिपोको अगाडिको भवनको एक कोठामा काउन्टर राखेर एसोसिएसनले अझै पनि बीमा रकम उठाइरहेको छ । एक व्यवसायीले भने, ‘एसोसिएसनले बीमाको नाममा हामीसँग प्रत्येक ढुवानीमा इन्धनको मूल्यअनुसार ५ सयदेखि १ हजार रुपैयाँ लिएर ’बीमा रसिद’ लेखिएको एक पर्ची दिन्थ्यो ।’ उनका अनुसार उक्त पर्चीमा भ्याटसहितको बिल नदिएको र माग्दा यही रसिद हो, कुनै घटना भए एसोसिएसनले त्यसको क्षतिपूर्ति तिर्न तयार छँदै छ भनेर टार्ने गरेका छन् । डिपो परिसरमै काउन्टर राखेर बीमा रसिद दिएपछि आफूहरूले पनि खासै चासो नलिएको व्यवसायीको भनाइ छ । उनका अनुसार भदौ १ देखि निको नामको अर्को बीमा कम्पनी आएपछि मात्रै एसोसिएसनले यसरी गैरकानुनी रूपमा रकम असुलिरहेको रहस्य खुलेको छ ।

एसोसिएसनले बीमाको रकम उठाउन रोशन गुप्तालाई खटाएको थियो । गुप्ताले इन्धन ढुवानी गर्ने ट्यांकरसँग बीमाको रकम असुल गर्ने गरेको स्वीकार गरे । गुप्ताले भने, ‘बीमा रकम उठाउन एसोसिएसनले काठमाडुबाट रसिदको ठेली पठाएको छ, त्यही रसिद दिएर व्यवसायीसँग बीमाको रकम उठाउँछौँ, अब बीमाको रकम एसोसिएसनले उठाउनु कानुन सम्मत हो वा होइन, त्यो कुरा मलाई थाहा छैन ।’ प्रतिमहिना करिब ५ लाख रुपैयाँसम्म बीमा रकम उठ्ने गरेको पनि बताए । तीन वर्षदेखि आफूले बीमाको रकम उठाउँदै आएको उनको भनाइ छ । गुप्ताले भने, ‘यो तीन वर्षको अवधिमा बीमा गरिएको इन्धन बोक्ने ट्यांकरमा क्षति भएको छैन ।’ इन्धन ढुवानीका क्रममा ट् यांकरमा आगो लाग्ने, ट्यांकर लिकेज भई लोड गरिएको इन्धनमा कमी हुनेजस्ता समस्या भए बीमा रकम उपलब्ध गराउने व्यवस्था छ ।’ एसोसिएसनले बीमा रकम उठाउन थालेको वर्षदेखि यस्तो घटना नभएको गुप्ताको भनाइ छ । बीमाबापत संकलित रकम एसोसिएसनका अध्यक्ष नारद भण्डारीको आदेश अनुसार वितरण हुन्छ । गुप्ताले भने, ‘प्रायः उहाँले नै उपलब्ध गराएको खातामा जम्मा गरिदिन्छौँ ।’ कहिलेकाहीँ नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन महोत्तरीका अध्यक्ष राजीव साहलाई पैसा पठाउने गरेको उनले बताए । स्रोतका अनुसार बीमाबापत उठेको रकम एसोसिएसनका पदाधिकारीले नै बाँडफाँट गर्ने गरेका छन् ।

यता, अध्यक्ष भण्डारीले पनि एसोसिएसनले लामो समयदेखि बीमाको रकम उठाउँदै आएको बताए । एसोसिएसनले बीमा प्राधिकरणबाट एजेन्टको अनुमति लिएको दाबी गर्दै उनले भने, ‘यो धनुषामा मात्र नभइ धेरै ठाउँमा हामीले इन्धन ढुवानीको बीमा गर्दै आएका छौँ ।’ भण्डारीले बीमाका लागि अनलाइन वा भ्याटसहितको बिल आवश्यक नभएको दाबी गरे । बीमा प्राधिकरणसँग समन्वय गरेर काम गरिरहेको उनको दाबी छ ।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन काठमाडुले २०७३ साल जेठ २८ गते राष्ट्रिय बीमा कम्पनी लिमिटेडबाट बीमा अभिकर्ताको इजाजत लिएको छ । उसको बीमा अभिकर्ता नम्बर ३३८४ रहेको छ । बीमा ऐन २०७९ को दफा नम्बर २४ अनुसार बीमा प्राधिकरणमा इजाजत नलिइ बीमा, पुनर्बीमा वा बीमा कोषजस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बीमा व्यवसाय सम्बन्धी कुनै कारोबार, उद्योग, व्यापार, व्यवसाय गर्न गराउन हुँदैन भन्ने र दफा १५३ अनुसार बीमक बाहेक अन्य कसैसँग बीमा व्यवसाय सम्बन्धी कारोबार गर्न नहुने कानुनी व्यवस्था छ ।

त्यसैगरी, माथि उल्लेखित कानुनी प्रावधान विपरीत बीमक बाहेकका कुनै संगठित संस्थाहरूले बीमा व्यवसायसँग सम्बन्धित कारोबार गरेको देखिएको हुँदा सोही ऐनको दफा १४० को उपदफा १ को खण्ड (क) बमोजिमको बीमा कसुर मानिने र दफा १४१ को उपदफा (१) बमोजिम दण्ड जरिवाना हुन सक्ने व्यवस्था छ । बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले भने, ‘अभिकर्ता भनेको कुनै वस्तुको बीमा गराउनुपर्दा बीमा अभिकर्ताले कुनै बीमा कम्पनीसँग बीमा गराइदिने हो । ऊ आफैँले बीमा गर्ने होइन । ऊ बीमा गर्ने एजेन्ट मात्र भयो । बीमा गर्ने कम्पनी होइन, बीमा त बीमा कम्पनीले गर्ने हो ।’ अधिकारीले नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले प्राधिकरणबाट अभिकर्ता इजाजत मात्रै लिएकाले एसोसिएसनले अन्य कुनै बीमा कम्पनीलाई बीमाको बिजनेस दिने अधिकार हुन्छ । अधिकारीले भने, ‘ऊ आफैँ बीमा गरिरहेको छ भने त्यो कानुनसम्मत छैन ।’ त्यसरी बीमाको नाममा रकम असुल गर्ने र बीमा कम्पनीमा बीमा रकम जम्मा नगरी आफैँले राखेको पाइए बीमा प्राधिकरणले कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउन सक्ने अधिकारीको भनाइ छ ।

नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो प्रमुख दिलीपकुमार चौधरीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने गराउने कार्य व्यवसायीहरूको रहेकाले त्यसमा डिपोको खासै चासो नरहेको बताए । लामो समयदेखि एसोसिएसनको नाममा व्यवसायीहरूले बीमाको रसिद लिएर आउने गरेका थिए । उनले भने, ‘अहिले एक कम्पनीले बीमा गरिरहेको छ, कोसँग बीमा गराउँछन्, त्यो व्यवसायीको स्वतन्त्रता हो, हामीले भन्न मिल्दैन । व्यवसायीले आफ्नो व्यवसाय सुरक्षाका लागि इन्धनको बीमा गराउने हो

Comment


Related News

Latest News

Trending News