अपडेट 
२०८० भाद्र १०, आईतवार ०७:३६

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) स्थापना भएको दुई वर्ष पूरा भएको छ । कुनै समय नेपालको राजनीतिमा उथलपुथल ल्याउने क्षमता राख्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को स्थपाना दिवस मनाइ रहँदा लोसपाको जनाधार रहेको मधेश प्रदेशको राजधानी जनकपुरधाममा भने पार्टीको गतिविधि शून्य छ ।

पार्टीले न कुनै कार्यक्रम राखेको छ त कार्यकर्ताहरुमा कुनै उत्साह देखिन्छ । सर्वसधारण भन्दा पनि पार्टीका सक्रिय कार्यकर्तालाई नै पार्टीके स्थापना दिवसको वारेमा थाहा छैन । २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा १७ सिट ल्याएर मुलुकको तेस्रो शक्तिको रुपमा उदाएका महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीले लोसपासम्मको यात्रा तय गर्दा अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको छ । तत्कालीन राजपा र तत्कालीन संघीय समाजवादी पार्टी मिलेर जसपा निर्माण भएको थियो । तर २०७९ सालको निर्वाचन अघि नै जसपा विभाजित भइ महन्थ ठाकुरको नेतृत्वमा गठित लोसपाले प्रतिनिधि सभामा ४ सिटमा सीमित मात्रै भएन की राष्ट्रिय पार्टीको पहिचान पनि गुमाउन पुगे । २०७४ सालको निर्वाचनमा मधेश प्रदेश सभामा २५, लुम्बिनीमा ३ र सुदुरपश्चिममा २ गरी ३० सिट ल्याएका लोसपा २०७९ सालको निर्वाचनमा मधेशका ९ र लुम्बिनीमा ३ गरी १२ सिटमा सीमित हुन पुग्यो । पार्टीका चर्चित नेता रेशम चौधरीलाई पार्टीमा राख्न नसक्दा लोसपाको हातबाट सुदुरपश्चिम पनि फुत्किन पुग्यो ।

त्यसैगरी, २०७४ सालको स्थानीय तहको निर्वाचनमा २६ पालिका प्रमुखसहित १ हजार १११ जना जनप्रतिनिधि निर्वाचित गराउन सफल भएका अध्यक्ष ठाकुर ‘०७९ सालको निर्वाचनमा ४ पालिका प्रमुखसहित मात्र १ सय ५२ जना जनप्रतिनिधिमा चित्त बुझाउन पुगे । दुई वर्ष अघि अलग पार्टीको रुपमा जसपासँग विभाजित भएका लोसपा यी अवधिमा जो गुमाएको छ त्यो पूरा गर्न दशक लाग्ने राजनीतिक पण्डितहरुको विश्लेषण छ । जुन धार लिएर काँग्रेसलाई त्याग गरी मधेशको राजनीतिमा सक्रिय भएका ठाकुर जीवनको उत्तरार्धमा त्यो धारलाई बागमतिमा विर्सजन गर्ने अवस्थमा पुग्दा त्यसका हिमायती र उत्ताधिकारीहरु फरक बाटो रोज्न विवश र वाध्य भएका छन् । मधेश आन्दोलन ताका मधेश मुद्दामा काठमाण्डु तताउने युवाहरु ठाकुरलाई छोडेर सिके राउतको जनमत तर्फ आकर्षित हुन थालेका छन् ।

गत ५ भदौमा मात्रै लोसपाका प्रभावशाली युवा नेता तथा युवा संघका केन्द्रिीय सदस्य रिकी सिंहको नेतृत्वमा दर्जनौ युवाहरु जनमतमा प्रवेश गरेका थिए । त्यसको एक महिना अघि मात्रै लोसपाका केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज सशत सिंह यादव, पार्टीका वीरगंज महानगरपालिकाका नगर अध्यक्ष ओमप्रकाश सर्राफ लगायतका नेता तथा कार्यकर्ताहरु क्रमश जनमतमा प्रवेश गरेका थिए । यी नेता तथा कार्यकर्ताहरु लोसपाका ठूला योद्धाहरु थिए, जुन जिल्लादेखि काठमाण्डौ सम्म पार्टीलाई गतिशील बनाउनमा ठूलो भूमिका रहेका ेथियो । लोसपाका एक नेताको भनाइ मान्ने हो भने लोसपा अव लोसपा रहेनन्, नेतृत्वको असक्षमता र मौनताले अब लोसपा लोप हुने अवस्थामा पुगेको छ ।

जसपाबाट अलग हुँदा लोसपाको कार्यकारिणी समिति ३० सदस्यीय थियो । तर अहिले वैठक हुँदा १० जनाको पनि उपस्थिति हँुदैन । लोसपाका एक नेता भन्छन्,‘ एक त कार्यकारिणी समितिको वैठक नै हुँदैन । यो दुई वर्षको अवधिमा ३÷४ पटक मात्रै बैठक भएको होला । तर यी बैठकहरुमा १०÷१२ जना भन्दा बढी उपस्थित हँुदैनन् ।’ पार्टीका नेतृत्व तह नै निष्क्रिय हुँदा त्यसको प्रभाव जिल्ला र प्रदेशमा पर्नु स्वाभाविक रहेको उनी बताउँछन् । लोसपा बनेको दुई वर्ष भएको छ । तर अहिलेसम्म जिल्ला कमिटिहरु गठन भएको छैन । जिल्लामा पार्टी विभाजन ताका तोकिएको तदर्थ समितिहरु मात्रै छन् । भातृ संगठनहरुको अवस्था त पार्टीका संगठन भन्दा दयनीय छ । कुनै भातृ संगठन सक्रिय छैन । स्ववियु निर्वाचन ताका विद्यार्थी मंच थौरै एकत्रित भएका थिए । त्यसमा पनि विवाद भएर कुनै पनि क्याम्पसमा जीत निकाल्न सकेनन, जनकपुरधामको राराब क्याम्पसमा मात्रै स्ववियुको सचिवमा निर्वाचित भए ।

यसरी पछिल्लो दुई वर्षको अवधिमा पार्टीको अस्तित्व नै संकटमा पर्ने गरी ग्राफ घटनु म्रूल कारण पार्टीको नेतृत्वको असक्षमता, गतिहीनता रहेको पार्टीकै नेताहरुको भनाइ छ । लोसपाका एक जना प्रदेश सांसद भन्छन,‘ ठाकुर जी जीवनको उत्तरार्धमा हुनुहुन्छ । अब उहाँमा उर्जा छैन । मुद्दा प्रतिको लगनशीलता छैन । न त कुनै इच्छा पूरा हुन बाँकी छ । उहाँले जे पाउनुपर्ने थियो, त्यो सबै पाइसक्नु भएको छ । अब के को लागि संघर्ष गर्छन ? पार्टीलाई गतिशील बनाउने नेतृत्वले हो, नेतृत्व नै गतिहीन भएपछि पार्टीको हविगत यस्तै हुन्छ ।’त्यसकारण उहाँले अब आफ् नो स्वेच्छाले कसैलाई जिम्मेवारी हस्तान्तरण गरेपछि मात्रै पार्टीको अस्तित्व जोगिन्छ । नत्र ठाकुर जीसँगै राजेन्द्र महतो, शरत सिंह भण्डारी र अनिल झा सबैको राजनीतिक भविष्य संकटमा पर्छ ।’

तत्कालीन राजपा अलग भइ पुनः गठन भएका तराई मधेश लोकतान्त्रिक पार्टीका नेता मोहम्मद असगर अलीले लोसपा ओरालो लाग्नुको पछाडि लोसपा भित्र रहेका शीर्ष नेतृत्व बीच वैचारिक एकता नहुनु प्रमुख कारण रहेको बताउँछन् । ‘लोसपामा धेरै नेताहरु छन, तर एकको अर्को सँग बिचार मिलेको देख्दैन । सबैले आ आफ्नै पार्टीको नेतृत्व गरेर आएका छन् । उनी अगाडि भन्छन,‘ सबैले कुनै पनि निर्णयमा आफ्नै भलो खोज्छन्, आफ्नै नजिकका मान्छेलाई जिम्मेवारी दिन चाहन्छन् । आफ् नो जिहजुरी गर्नेलाई ठाकुर जिल्ला, प्रदेशको जिम्मेवारी दिन्छन, राजेन्द्र महतोले आफ्नो जि हजुरी गर्नेलाई रोज्छन, भण्डारीले आफ्नो ।

यसरी पार्टीका लागि दिन रात खट्ने नेता तथा कार्यकर्ताको कुनै मुल्यांकन नै हँुदैन । त्यसकारण पार्टीप्रति आमकार्यकर्ताको निरासा बढेर अन्य पार्टीतर्फ लाग्छन् ।’ अर्को कारण पार्टी अध्यक्ष ठाकुर नेतृत्व गर्न सक्षम हुँदापनि केही सीमित व्यक्तिहरुको घेराबन्दीमा परेर समय अनुसार पार्टीलाई गतिशील बनाउन नसक्दा लोसपाको यस्तो हविगत भएको अलीको तर्क छ । यता, पार्टी अध्यक्ष महन्थ ठाकुरका निकट मानिएका लोसपाका मधेश प्रदेश अध्यक्ष तथा प्रदेशका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले विभिन्न कारणले पार्टीले पछिल्लो समय पार्टीको गतिविधी कम भएको स्वीकार गर्छन । पार्टीको केन्द्रमै कुनै गतिविधि नभएपछि प्रदेश र जिल्लामा हुने कुरा भएन, सोनल अगाडी भन्छन,‘ पार्टी अध्यक्षको स्वास्थय लगायतका कारणले पार्टीले संगठन विस्तार, कार्याकर्ता प्रशिक्षण लगायतका कारण अगाडि बढाउन सकेन । तर अव पार्टीले त्यस तर्फ सक्रिय रुपमा अगाडि बढ्छन ।’

पार्टी नेतृत्वको विषयमा अध्यक्ष सोनल भन्छन,‘ जीवनको उत्तरार्धरमा पनि उहाँ उर्जाशील हुनुहुन्छ, उहाँमा उर्जाको कुनै कमी छैन । रहियो कुरा नेतृत्व परिवर्तनको त त्यो पार्टी भित्रको आपसी समझदारीको विषयमा हो । मेरो स्तरबाट बोल्नु आवश्यक छैन ।’ लोसपाको ग्राफ घट्दै गएपनि केन्द्र र प्रदेशमा पनि सत्तामा रहेको पार्टी हो । केन्द्रमा वरिष्ठ नेता शरत सिंह भण्डारीको नेतृत्वमा र मधेश प्रदेशमा रमेश प्रसाद कुर्मीको नेतृत्वमा सरकारमा छन् । वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक चन्द्रकिशोर लोसपा मात्र होईन मधेश केन्द्रित सबै दलहरुले सत्ताको स्वार्थमा आफ्नो मुख्य एजेण्डा नै छोड्दै गएपछि कमजोर अवस्था पुगेको बताउँछन् ।

खास लोसपा यो मामिलामा निकै अगाडी रहेको उनी बताउँछन् । ‘जुन धार, जुन लाईन लिएर महन्थ ठाकुर काँग्रेस त्याग गरि मधेश केन्द्रित राजनीतिमा सक्रिय भएका थिए, त्यो धार नै यतिवेला संकटमा छ, त्यो धार महन्थ ठाकुरसँगै बागमतिमा बिर्सजन त हुने होईन भने आशंका छ,‘ उनी भन्छन, कारण, पार्टी नेतृत्वमा मुद्दालाई रिफाइन्ड गर्ने, आफ्नो मुद्दामा जनतालाई कनभिन्स गर्ने, समय सापेक्ष स्टडीज बनाउने, कार्य निती बनाएर अगाडी बढ्ने, संगठन विस्तारदेखि कार्यकर्तालाई समय सापेक्ष प्रशिक्षण दिने लगायतका कार्यहरु नेतृत्वबाट हुन सकेन ।’ लोसपाको नेतृत्वले कहाँबाट चलेको थियो र कहाँ पुग्नु छ, त्यो बिर्सेको छ, उनी अगाडी भन्छन्,‘ लोसपा मात्रै होईन, नेकपा एमाले वाहेक कुनै पनि पार्टीले संगठन विस्तार र संगठन सुदृढीकरणमा ध्यान दिएको छैन ।

कार्यकर्तामा निरासा बढिरहेको छ । तर त्यसलाई सम्बोधन गर्न नेतृत्व पंक्ति अगाडी आउदैनन् । यो सबै पार्टीलाई कमजोर गर्ने कारणहरु हो ।’ चन्द्रकिशोरको भनाईसँगै सहमति राख्दै अर्का राजनीतिक विश्लेषक रोशन जनकपुरी भन्छन्,‘ संसदीय राजनीतिमा जुन चेहरा बढी देखिन्छन्, जुन सुनिन्छन, जुन बढी गतिशील हुन्छ, त्यसप्रति आमजनताको आकर्षण बढी हुन्छ । तर पछिल्लो समय लोसपा नेतृत्वको राष्ट्रिय राजनीतिमा कुनै भूमिका नै देखिएको छैन । नेताहरु मौन भएर बसेका छन्, पार्टीको कुनै गतिविधि छैन, कार्यकर्ताहरुमा निरासा छाएको छ । त्यसको परिणाम पछिल्लो समय लोसपा त्याग गरि अन्य पार्टीलाई रोज्नु हो ।’

मधेश केन्द्रित दलहरुको सबभन्दा ठुलो कमजोरी भने उनीहरु आफुलाई राष्ट्रिय पार्टी बनाउन खोज्छन्, तर राष्ट्रियवादी बन्न ेहोडमा मधेशका एजेण्डाहरु नै छोडेर सत्ताको जोड घटाउमा लाग्छन्, उनी भन्छन, यसमा लोसपाको भूमिका संधै शंकास्पद रहेको देखिन्छ । कहिले प्रो इन्डियनको रुपमा सत्ता जोडघटाउमा लाग्छन्, त कहिले के ? कहिले के ? उनीहरुमा इमान्दारीताको अभाव पनि देखिएको छ, पार्टीलाई जीवन्त राख्न इमन्दारिता अति आवश्यक हो ।’

Comment


Related News

Latest News

Trending News