अपडेट 
२०८० भाद्र १२, मंगलवार ०७:३३

गाई–गोरुको हत्या गर्नेलाई कारबाहीको माग गर्दै जनकपुरधाम मशाल जुलुस प्रदर्शन गरिएको ।

सोमवार सांझ राप्रपा जिल्ला कार्यसमिति धनुषाले गाई–गोरुको हत्या, भ्रष्टाचारी र तस्करहरुलाई यथाशीघ्र कारबाहीको माग गर्दै मशाल जुलुस प्रदर्शन गरेका छन् । जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा जनकपुरधाम उद्योग वाणिज्य संघबाट निस्केको मशाल जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भई सम्पन्न भएको थियो ।

कोणसभामा राप्रपाका केन्द्रीय सदस्य सुनिल साहले ४८ घण्टा भित्र गाई–गोरुको हत्या गर्नेलाई पक्राउ गरी कडा कारबाही नगरिएमा गृहमन्त्रीको राजीनामा माग्दै कडाभन्दा कडा आन्दोनलमा उत्रिने चेतावनी दिए । जिल्ला अध्यक्ष रामनरेश यादवले देशमा भ्रष्टाचार र तस्करी फस्टाउनुका साथै गाई–गोरुको हत्या गर्ने जस्ता हिन्दु धर्ममाथि प्रहार भइरहे पनि सरकार केही गर्न नसकेपछि दबाव स्वरुप आन्दोलनमा उत्रेको बताए । उनले पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमबार मशाल जुलुस प्रदर्शन गरेको बताउँदै मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने कार्यक्रम रहेको बताए ।

जुलुसमा राप्रपाका प्रदेश सांसद कन्चन विच्छा सहित जिल्ला तथा केन्द्रीय स्तरका दर्जनौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News