अपडेट 
२०८० भाद्र १२, मंगलवार ०७:४०

सप्तरीमा सार्वजनिक सवारीबाट दुई जना अपहरणमा परेको घटना सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार सप्तरीको रूपनी–०५ मा गत साउन २९ गते म्याजिक गाडीमा यात्रा गरिरहेका एक जना महिला र एक जना पुरूषको अपहरण भएको थियो। ‘व्यावसायिक कामको सिलसिलामा धरानबाट आएका उनीहरु गाडी चढेर फर्किरहेका थिए ।

रूपनी–५ को युनिक अस्पताल नजिक पुगेपछि मोटरसाइकलमा आएकाहरूले गाडी रोकेर उनीहरुलाई अपहरण गरेका थिए,’ सिंहले भने,‘ मोटरसाइकलमा आएकाहरूले आफूहरू प्रहरीको सिआइडी हो, केही सोधपुछ गर्नुछ भनेर गाडीबाट दुबै जनालाई ओरालेको थियो ।’ सिंहका अनुसार अपहरणकारीले ती दुई जनालाई मुख्य सडकबाट अलि टाढाको एकान्त ठाउँमा लगेका थिए ।

त्यहाँबाट उनीहरूले फिरौती मागेका थिए। ‘उनीहरूसँग भएको ९७ हजार रुपैयाँ लगेछन्,’ सिंहले भने,‘अपहरणमा परेकी महिलाको श्रीमानलाई फोन गरेर एक लाख रुपैयाँ फिरौती मागेछन् ।’ धरानबाट महिलाका श्रीमानले एक लाख रुपैयाँ मोबाइल बैंकिङबाट पठाइदिएपछि उनीहरूलाई त्यही छोडेर अपहरणकारीहरू आफ्नो बाटो लागेका थिए। अपहरणमा परेका दुबै जना त्यसपछि गाडी चढेर धरान गएका थिए । ‘उनीहरूले त्यो दिन प्रहरीलाई खबर नै गरेनन् ।

दुई–तीन दिनपछि मात्र उजुरी लिएर आए,’ डिएसपी सिंहले भने,‘घटनामा संलग्नहरूलाई खोज्दै जाँदा हामीले एक जनालाई पक्राउ गरेका छौं ।’ पक्राउ पर्नेमा राजविराज–१ का अजयकुमार दास रहेका छन् । उनको राजविराजमै सुनचाँदी पसल छ । उनीहरूले ती दुई जनालाई पहिला नै चिनेका थिए कि त्यो दिन मात्र पछ्याएका हुन् भन्ने खुलिसकेको छैन । ‘अपहरणमा ४–५ जना संलग्न भएको देखिन्छ । हामी अरू मान्छे खोज्दै छौं थप अनुसन्धान पनि गर्दैछौं,’ सिंहले बताए ।

Comment


Related News

Latest News

Trending News