अपडेट 
२०८० भाद्र १३, बुधबार ०९:५०

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका आयोजनाको कार्यान्वयन समय आजदेखि गणना हुँदैछ ।

आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो । पाँच वर्षभित्र आयोजना सम्पन्न नभएमा बाँकी लगानी नेपालले नै बेहोर्नुपर्नेछ ।

एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ । यसमा नेपालले १३ करोड डलर थपेको छ । यो सहयोगले काठमाण्डौको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरुको निर्माण हुनेछ ।

यस्तै, कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नती हुनेछ । एमसीसीबारे विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीलाई अनुमोदन गरेको थियो ।

यो टिप्पणीलाई अमेरिकाले स्वीकार गर्‍याे कि गरेन भन्ने बारेमा धेरै बहस भइरहेको छ । हिजो अमेरिकी दुतावासले एक विज्ञप्ति निकालेर व्याख्यात्मक घोषणासँग अमेरिका सहमत रहेको जनाएको छ ।

यसैबीच, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आइपुग्नुभएको छ । क्यामरुन आज अर्थ मन्त्रालयमा हुने एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुनुहुनेछ ।

Comment


Related News

Latest News

Trending News