अपडेट 
२०८० भाद्र १५, शुक्रबार १९:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष भएको दाबी गर्नुभएकाे छ ।

समाजवादी मोर्चाले आज शुक्रवार पोखरामा आयोजना गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले माधव नेपाल निर्दोष साबित भएको नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको दाबी गर्नुभएकाे हाे ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको र मुद्दा चलाउन नपर्ने भएपछि निर्दोष साबित गरेको प्रचण्डको दाबी छ । उहाँले सरकार ‘निर्दोष नफसून्, दोषी नछुटून्’ भन्ने मान्यतामा रहेको बताउनुभयाे ।

प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा धेरै खालका व्यक्तिहरू संलग्न रहेको उल्लेख गर्नुभयाे । क्विन्टलका क्विन्टल सुन तस्करी हुने गरेको थाहा पाएपछि सरकारले अनुसन्धान शुरु गरेको उहाँले बताउनुभयाे ।

प्रचण्डले आसन्न चीन भ्रमणका क्रममा पोखरा र गाैतमबुद्ध विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान, कोरोला नाका, रुइला नाका सञ्चालन, विद्युत व्यापारलगायतका विषय राख्ने बताउनुभयाे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिककाे समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्ने गरी मोर्चा अघि बढेको दाबी गर्नुभयाे । मोर्चाले समाजवादी क्रान्तिलाई सम्पन्न गर्ने आधारशीला बनाउन काम गरिरहेको उहाँको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी फुट्न मात्र नभई जुट्न पनि जानेको जिकिर गर्नुभयाे । माओवादी आन्दोलनको विरुद्धमा ठूलो समूह लागेकै कारण आफूहरू समाजवादी मोर्चा बनाएर अगाडि बढेको उहाँले बताउनुभयाे ।

यस्तै जनता समाजवादी पार्टीका कार्यकारी सदस्य शिवलाल थापाले अहिलेको सङ्घीयता र संविधानप्रति आफ्नो फार्टीकाे केही असहमति रहेको बताउनुभयाे । कार्यक्रममा समाजवादी मोर्चा गण्डकीको घोषणा भएको थियो ।

Comment


Related News

Latest News

Trending News