अपडेट 
२०८० भाद्र १७, आईतवार ०८:१२

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले पार्टीका अध्यक्ष उपेन्द्र यादवको राजनीति समाप्त गर्ने उद्देश्यले गौर घटनाको फाइल खोलिएको दाबी गरेका छन् ।

जसपा नेपाल निकट बौद्धिक पेसाकर्मी महासंघ नेपालले शनिबार आयोजना गरेको ‘गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका’ विषयक विचार गोष्ठीमा प्रवक्ता सुमनले संघीयता र गणतन्त्रका लागि लडेका जसपाका अध्यक्ष यादवलाई विवादमा तान्न, राजनीतिक रूपमा समाप्त गर्न र विवादमा ल्याउन षड्यन्त्रपूर्वक गौर घटनालाई बाहिर ल्याइएको दाबी गरे ।

जो व्यक्ति घटनास्थलमा उपस्थित नै थिएन, ती व्यक्तिलाई पनि घटनामा मुछिएको बताउँदै उनले केही व्यक्तिलाई फँसाउन खोजेको कुरा प्रष्ट भएको बताए ।

तत्कालीन मधेशी जनअधिकार फोरमले गौर राइस मिलमा कार्यक्रम गर्ने भनेर स्थानीय प्रशासनबाट अनुमति लिएको तर माओवादीले दुई दिन अगाडि कार्यक्रमको घोषणा गरेर प्रचार प्रसारमा लागेको र स्थानीय प्रशासनसँग अनुमति पनि नलिएको उनको भनाइ थियो । स्थानीय प्रशासनले पटक–पटक कार्यक्रम स्थगित गर्न आग्रह गर्दा, सामूहिक छलफलका लागि बोलाउँदा पनि तत्कालीन माओवादी नेता प्रभु साह बैठकमा नआएको र जानी जानी गौर घटना गराएको उनले दाबी गरे ।

‘गौर घटनाको कोही दोषी छन् भने त्यो प्रभु साह हुन्, उनलाई कारबाही हुनुपर्छ,’ उनले माग गरे । गौर घटनाको बारेमा त्यतिबेला भएका विभिन्न अध्ययन प्रतिवेदनलाई सरकारले सार्वजनिक गरे सबै कुरा स्पष्ट हुने उनले बताए । जसपाका केन्द्रीय सदस्य जयराम यादवले पनि यदि कुनै राजनीतिक दलको इसारामा गौर घटनालाई उठाउने काम गरिएको हो भने त्यसले माओवादी अध्यक्ष प्रचण्डलाई नै घाटा हुने चेतावनी दिए ।

जसपाका अध्यक्ष यादवलाई पूर्वाग्रही ढंगबाट फँसाउने काम भयो भने प्रचण्डलाई नै असर पर्ने बताउँदै उनले यादवको सहयोगमा पटक–पटक प्रधानमन्त्री बनेका प्रचण्ड आफ्नै कारणले समाप्त हुने जिकिर गरे । उनले भने, ‘उपेन्द्र यादवमाथि कुनै पनि किसिमको षड्यन्त्र भयो भने त्यो राज्यका लागि पनि हानिकारक छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार जोगाउनका लागि यो षड्यन्त्र गरिरहेको दाबी गर्दै उनले जसपासँग भिड्ने दुस्साहस नगर्न चेतावनी दिए । उनले भने, ‘फेरि त्यस्तै आन्दोलन नहुने भन्न सकिँदैन । बेलैमा प्रधानमन्त्री प्रचण्डलाई सचेत रहन आग्रह छ ।’ डा.विजय मिश्रले उपेन्द्र यादवलाई फँसाउने षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘उपेन्द्र यादवले राजनीतिमा जुन हाइट लिनुभएका छ, त्यसलाई समाप्त गर्नका लागि षड्यन्त्रपूर्वक यो गौर घटनालाई उचालिएको छ ।’ यादव घटनास्थलमै नभए पनि जानीजानी उनलाई फँसाउने काम भइरहेको उनले दाबी गरे ।

Comment


Related News

Latest News

Trending News