अपडेट 
२०८० भाद्र १७, आईतवार १२:४८

बर्दिया जिल्लाको गुलरिया कारागारबाट एक जना कैदी भागेका छन् ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ३० वर्ष सजाय तोकिएर सजाय काटिरहेका कैदी टोपे भनिने अजित बुढा क्षेत्री कारागारबाट भागेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मत बोहोराले जानकारी दिनुभयो ।

कारागारभित्रको भवनको छतमा चढेका उनी काँडेतार लगाएको पर्खालमा चढेर बिहान साढे ३ बजेतिर हाम फालेर भागेका डीएसपी बोहोराले बताउनुभयो । बर्दिया कारागारभित्र रहेका बुढा क्षेत्रीको खोजीका लागि नेपाल भारत सीमावर्ती नाकाका साथै गुलरिया, मधुवन, ठाकुरबाबा लगायतका जिल्लाका आठ वटै पालिकाका ठाउँठाउँमा बिहानैदेखि प्रहरी परिचालन गरिएको छ ।

२०७२ साल फागुन ५ गते छिमेकी जोरासिंह थापाको हत्या अभियोगमा भोलिपल्टै पक्राउ परेका ठाकुरबाबा नगरपालिका-८ सुतैया गाउँका उनी बर्दिया जिल्ला अदालतमा बयानका लागि लगिएका बेला अदालत परिसरकै शाैचालयको भेन्टिलेसनबाट २०७२ साल फागुन ३० गते पनि भागेका थिए ।

अदालत परिसरको शौचालयबाट भागेकाे साढे ६ वर्षपछि प्रहरीले गएको वर्ष कार्तिक २१ गते उनलाई घरबाटै पक्राउ गरेको थियो । अदालतले उनलाई हत्या अभियोगमा ३० वर्ष कैद सजायको फैसला गरेको थियो । अदालतको शाैचालयबाट भागेपछि पक्राउ परेको एक वर्ष नपुग्दै फेरि कारागारबाट उनी भागेका प्रहरीले जनाएको छ ।

कारागार भित्रैबाट कैदी कसरी भागे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News