अपडेट 
२०८० भाद्र १८, सोमबार ०७:२३

जनकपुरधामको नवजीवन हस्पिटलमा एक जना बिरामीको घुँडाको शल्यक्रियामा चरम लापरबाही भएको तथ्य सार्वजनिक भएको छ ।

महोत्तरीको भंगहा नगरपालिका ९ का ३० वर्षीय मन्दीप यादवको बायाँ घुँडाको घाउको शल्यक्रियाका क्रममा हस्पिटलले गज (कपडा) छाडेको पाइएको छ । गज भित्रै छाडेर टाँका लगाएपछि घाउ झन् बल्झिदा पुनः शल्यक्रिया गरेपछि गज फेला परेको तथ्य सार्वजनिक भएको छ । साउन ४ गते आफैले चलाएको मोटरसाइकल दुर्घटना भएपछि मन्दीपको घुँडामा चोट लागेर घाउ भएको थियो । नवजिवन हस्पिटलमा भदौ ५ गते उनको घाउको शल्यक्रिया गरिएको थियो ।

मन्दीपका अनुसार हाड जोर्नी तथा नशा विषेशज्ञले हाडटुटफुट नभएको भन्दै सर्जनसंग चेकजाँच गराउन सल्लाह दिएपछि साउन ३२ गते नारायण इ.एन.टी. एण्ड प्लास्टिक सर्जरी सेन्टरका सर्जन डा. मुकुन्द झा समक्ष चेक गराउन पुगेका थिए । उनले भने, ‘डा. झाले शल्यक्रिया गरे घाउ निको हुने सल्लाह दिए, र सोही दिन म नवजीवन हस्पिटलमा भर्ना भएपछि डा. झाले साँझ ४ बजे शल्यक्रिया गरे’ । तीनदिन ड्रेसिंग पश्चात घाउमा आठ वटा टाका लगाइयो ।

एकसातापछि डिस्चार्ज गरियो । घर पुगेर ड्रेसिंग गर्न चिकित्कले सल्लाह दिएकोमा दुईतीनदिन घरमा ड्रेसिंग गर्दा घाउबाट पीप आउन थालेपछि आफूलाई शंका लागेको उनले बताए । शंका लागेपछि चिकित्सकलाई फोन गर्दा उठाउन छाडे । अर्का चिकित्सकसंग देखाएपछि भित्र केही त्रुटि भएको हुन सक्ने आशंका गरे । शंका निवारणका लागि गत भदौ १२ गते आफू प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भए । त्यहाँ चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिए ।

अर्थोपेडिक सर्जन डाक्टर सन्दीप शर्माले शल्यक्रिया गरे । शल्यक्रियको क्रममा घाउमा भित्रै छाडिएको गज फेला परेको डा. शर्माले बताए । ‘अन्यत्र कतै अप्रेसन गराउनुभएको थियो । तर निरन्तर घाउबाट पिप आयो भन्नुभयो । शंका लागेर टाँका खोलेँ । भित्र केही वस्तु छ जस्तो लाग्यो’ उनले भने, ‘भित्र गज रहेछ, निकालेर फेरि सरसफाइ गरी टाँका लगाइदिएको छु ।’ भित्र छाडिएको वस्तु धेरै दिन ननिकालेको भए घाउ अझै जटिल हुन सक्ने डा. शर्मा बताए । चिकित्सकको लापरबाहीले आफ्नो स्वास्थ्य झण्डै जोखिममा परेको बिरामी मन्दीपले बताए ।

‘केहीदिन चेक नगराएको भए त मेरो खुट्टा गुम्न पनि सक्थ्यो’, मन्दीपले भने, ‘उपचारमा चरम लापरबाही गर्ने डा. झा र नवजीवन हस्पिटललाई कारबाही हुनुपर्छ ।’ डा. मुकुन्द झाको क्लिनिक हिजोआज बन्द छ । साइनबोर्डमा लेखिएको मोबाइल स्वीच अफ छ । नवजीवन हस्पिटलका म्यानेजर सञ्जीव साहले आफ्नो हस्पिटलमा बिरामीको दुईपटक शल्यक्रिया भएको बताए । तर बिरामी डिस्चार्ज भएर गएपछि पुनः समस्या हुँदा सम्पर्कमा नआएको बताए । ‘डिस्चार्ज भएर गएपछि बिरामी हाम्रो सम्पर्कमा आएको छैन ।

त्यसपछि के भयो हामीलाई थाहै भएन’ उनले भने ‘केही समस्या भएपछि हाम्रो सम्पर्कमा आउनुपर्दथ्यो ।’ शल्यक्रिया गरेपछि डा. मुकुन्द झा आफ्नो शुल्क लिएर गएको र उनी आफूहरुको सम्पर्कमै रहेको बताए । मन्दीपका दाइ सन्तोष यादवले उपचारका नाममा ठगी र बिरामीको जीवनसँग खेलबाड गरेको भन्दै चिकित्सक र हस्पिटललाई कारबाही गर्न नेपाल मेडिकल एशोसिएसन (एनएमसी) समक्ष उजुरी गरेका छन् । ‘डा. मुकुन्द झाले मानिसको जीवनसँग खेलबाड गरेको, गम्भीर लापरबाही गरेको र ठगी गरेकोले कानुन बमोजिम क्षतिपूर्ति भराइदिन र हदैसम्मको कारबाही गर्न उजुरी गरेको छु’, सन्तोषले बताए ।

Comment


Related News

Latest News

Trending News