अपडेट 
२०८० भाद्र १९, मंगलवार ०७:१४

एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो ।

वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको थियो । भारतले २० ओभर १ बलमा  १ विकेट पनि नगुमाई लक्ष्य भेटायो । भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतक बनाए । रोहितले ७४ र शुभमनले ६७ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ रनमा २ सय ३० रन बनाउँदा अल आउट भयो ।

नेपालका लागि नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे ।यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए । कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए । दीपेन्द्रसिंह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए । यस्तै भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । सन्दीप लामिछानेले ९ रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् ।

बलिङतर्फ भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए ।

यो हारसँगै नेपाल १ अङ्क पनि नजोडी समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारत भने यो जितसँगै ‘सुपर फोर’ मा पुगेको छ । समूह ‘ए’ बाट पाकिस्तान यसअघि नै ‘सुपर फोर’ मा पुगिसकेको छ ।

समूह ‘बी’ बाट ‘सुपर फोर’ मा पुग्ने टोलीको टुङ्गो भोलि मङ्गलवार हुने श्रीलङ्का र अफगानिस्तानबीचको खेलबाट लाग्नेछ ।

सुपर फोर का खेल पर्सि बुधवारदेखि हुनेछ । फाइनल खेल सेप्टेम्बर १७ तारिखमा हुनेछ ।

Comment


Related News

Latest News

Trending News