अपडेट 
२०८० भाद्र १९, मंगलवार १४:१०

भारतले नेपालसँगको विद्युत् व्यापारसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल गत जेठमा भारत भ्रमणमा आएका बेला विद्युत् व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो । तर, भारतको मन्त्रिपरिषदले अनुमोदन गर्न बाँकी रहेकाले सम्झौताको रुप धारण गर्न सकेको थिएन ।

द्विपक्षीय वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्तव्यमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने घोषणा गरेका थिए । प्रधानमन्त्री तहको वार्तामै त्यसलाई छिट्टै मन्त्रिपरिषद्‌बाट पारित गरिने प्रतिबद्धता भारतले जनाएको थियो ।

नेपालले दीर्घकालीन विद्युत् व्यापार गर्ने प्रस्ताव भारत समक्ष राख्दै आएको थियो । प्रशस्तै ‘नेगोसिएसन’ पछि प्रधानमन्त्री दाहालको भ्रमणका बेला त्यस विषयलाई भारतीय प्रधानमन्त्री मोदीको वक्तव्यमा राखिएको थियो । गतसाता भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गरेको हो ।

दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले त्यसको पुष्टि गरेका छन् । भारतको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्ने प्रेस इन्फर्मेसन ब्युरोको वेबसाइटमा त्यो निर्णय आइसकेको छैन ।

मंगलबार बिहान राजदूत शर्माले समाजिक सञ्जाल ‘एक्स’ मा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको लेखेका छन् । उनले यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

‘हामीले प्रतिक्षा गर्दै आएको विषय हो, विद्युत् व्यापारको क्षेत्रमा नेपालका लागि यो सकारात्मक हो,’ कान्तिपुरसँग उनले भने, ‘यसले नेपालको विद्युत्‌लाई भारतमा व्यापार गर्न बाटो खुलेको छ । आगामी दिनमा थप कार्ययोजनाहरु बनाएर यो कार्यान्वयनमा जानेछ ।’

Comment


Related News

Latest News

Trending News