अपडेट 
२०८० भाद्र २१, बिहीबार १४:४५

सांसदहरुले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गर्दै सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुमै उनीहरुले उक्त घटनाको छानविन गर्न समेत माग गरेका छन् । त्यस्तै सांसदहरुले उपचार नपाएर कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको घटनाको समेत छानविन गर्न माग गरेका छन् ।

बैठकमा कांग्रेस महामन्त्री गगन कुमार थापाले महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध जनाउनुभयो । उहाले सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको अवस्थामा थामथुम पार्ने प्रयास गर्न लागेको भन्दै गहिराईमा पुगेर अनुसन्धान गर्न माग गर्नुभयो । उहाले आफुहरुलाई पटक पटक बिभिन्न धम्की आएको र एक्लै हिड्न पनि कठिन भएको बताउनुभयो ।

काठमाडौंमा एउटा संविधानसभा सदस्य भएको व्यक्ति सुरक्षित नदेखिएको भन्दै हिंसालाई कुनै मानेबाट प्रश्रय दिन खोजिए ठूलो मूल्य चुकाउनुपर्ने उहाले बताउनुभयो । सांसद थापाले कान्ति बाल अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटना सामान्य नभएको भन्दै सत्यतथ्य छानविन गरेर सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

त्यस्तै एमाले सचेतक महेश बर्तौलाले महेन्द्र यादवमाथि भएको आक्रमणको भत्र्सना गर्दै घटनाको प्रधानमन्त्रीले जिम्मा लिएर जवाफ लिनुपर्ने बताउनुभयो । नेताहरुमाथि पटक पटक आक्रमण भइरहदा अपराधीहरुलाई प्रश्रय मिल्ने गरि अभिव्यक्तिहरु आउनु उचित नभएको भन्दै राज्यले गम्भीर रुपमा लिनुपर्ने उहाले बताउनुभयो । त्यस्तै बर्तौलाले कान्ति बाल अस्पतालमा समयमा नै उपचार नपाउदा बालिकाको मृत्यु अस्पतालको चरम लापरवाही भएकाले अस्पताल प्रशासनले जिम्मेवारी लिनुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै राप्रपा सांसद धवलशम्शेर राणाले महेन्द्र यादवमाथि भएको आक्रमणपछि राप्रपालाई आक्षेप लगाउने काम भएको भन्दै यसमा संलग्न व्यक्ति राप्रपाको नभएको स्पष्ट पार्नुभयो ।

उहाले राप्रपा कहिले पनि हिंसामा विश्वास नगर्ने भन्दै उक्त घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्ने जिकिर गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News