अपडेट 
२०८० भाद्र २१, बिहीबार १८:२१

नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी सेवा शुरु भएको छ । नेपालको फोन पे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) बीच अन्तरदेशीय क्यूआर भुक्तानीका लागि सम्झौता भएसँगै भुक्तानी पनि शुरु भएको हो ।

भारतको मुम्बईमा भएको ग्लोबल फिनटेक फेस्ट कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, फोन पेका अध्यक्ष विश्वास ढकालसहित एनपीसीआईका अधिकारीहरूले नेपाल र भारतबीच पहिलो क्रसबोर्डर क्यूआर भुक्तानीको औपचारिक शुरुवात गरेका हुन् । अब भारतीयहरू नेपाल आउँदा फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । नेपालीले भारतमा भुक्तानी गर्नका लागि भने राष्ट्र बैंकको निर्देशिका कुर्नुपर्ने भएको छ । राष्ट्र बैंकले केही समयभित्रै क्रसबोर्डर क्यूआर कारोबारसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको छ ।

अब भारतका पेटीएम, गुगल पे, फोन पे र मोबाइल बैंकिङ एप नेपालमा आएर फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाइनेछ । नेपाल र भारतका लाखौँ नागरिक एकअर्का देशमा आउजाउ गर्दा नगद बोक्नुपर्ने झन्झटमा थिए । तर अब भने त्यो झन्झटकाे अन्त्य भएको छ ।

भुक्तानीको शुरुवातपछि फोन पेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले दुवै देशका नागरिकको हितका लागि यो सम्झौता निकै महत्त्वपूर्ण रहेको र दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभएको छ । यस्तै एनपीसीआईले फोन पेसँगको यस साझेदारीलाई वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेको रूपान्तरणको यो यात्रा शुरु गर्न पाउँदा धेरै उत्साहित भएको जनाएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएको बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग क्रसबोर्डर भुक्तानीका लागि सम्झौता भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News