अपडेट 
२०८० भाद्र २३, शनिबार ०८:०६

पछिल्ला दुई घटनाबाट आजको विषयवस्तुको श्रीगणेश गरौं –पहिलो घटना राजधानीको व्यस्त स्थान भृकुटी मण्डप नजिक काग्रेस सह–महामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण ।

संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली, धर्मनिरपेक्षता, बहुलवाद, समानुपातिक र समावेशी प्रतिनिधित्व जस्ता लोकतान्त्रिक मूल्यमान्यताका लागि आजिवन संघर्ष गरेका, जेल नेल भोगेका महेन्द्र यादवमाथि आफूलाई हिन्दू राष्ट्रका समर्थक बताउने, राष्ट्रवादी भएको उद्घोष गर्ने कुनै श्यामबहादुर नामका व्यक्तिले ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गर्छ । नजिकका प्रहरी पाहुना जस्तो समातेर राख्छन् । प्रहरी नियन्त्रणमा रहेका आक्रमणकारीले मिडिया सामु आफूले यादवमाथि किन आक्रकण गरेको भन्दै बेलीविस्तार सुनाउँछन् । घटना लगतै सामाजिक सञ्जाल तातिन्छ । केही जना श्यामबाबूलाई बिद्रोहको नायकको रुपमा अर्थाउँन थाल्छन् । कथित बिद्रोहीहरुको एक तप्का संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ठिक होईन भने भाष्य पनि गढ्न थाल्छन् ।

अर्को घटना – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहको अराजक बोल । एन. आई सी यूमा उपचार गराई रहेका नवजात शिशुलाई दुध खुवाएर फर्किदै गरेकी श्रीमती चढेकी सरकारी गाडीका चालकसंग ट्राफिक प्रहरीले केर– कार गरेको निहुमा मेयर बालेन्द्र शाह संघीय सरकारलाई चोरमात्र भन्दैनन्, सिंहदरवारमा आगो लगाई दिने धम्की पनि दिन्छन् । सरकार चुईँ बोल्दैन् । कुनै प्रतिक्रृया आउँदैन । आफ्ना कमाण्डरको ड्यूटी बजाई रहेका ट्राफिक प्रहरीमाथि विभागीय कारबाही भए नभएको थाहा भएन । चेन अफ कमाण्डमा बसेर कमाण्डरको आदेश पालन गर्नु प्रहरीको कर्तव्य हो । सरकारले बनाएको नियम कानुनको मातहातमा रहेर कमाण्डरले ट्राफिक नियम बनाउँने हो । सरकारले भन्यो– विदाको दिन सरकारी गाडीको दुरुपयोग रोक । कमाण्डरले मातहतका प्रहरीलाई यही आदेश दिए । कमाण्डरको आदेश पालन गर्नु अपराध हो भने ती ट्राफिक प्रहरीले अपराध गरेकै हुन् । तर बालेन्द्रको धम्की सार्वजनिक भएको केही घण्टाभित्रै सामाजिक सञ्जाल तातियो । बालेन्द्र बाहुबलीको तारिफ हुन थाल्छ । कर्तव्यपालन गर्ने बिचरा ट्राफिक प्रहरी कुनै कुनामा जिल्ल परेर बस्छ ।

यी दुई प्रतिनिधि घटना मात्र हुन् । तर यी दुई घटनाले नेपालको वर्तमानलाई उद्घाटित गर्छ । यी घटनाले के पनि देखाउँछ भने आम नेपाली आक्रोशमा छन् । सरकार, राजनीतिक दल तथा नेताहरु आमजनताको आशा आकांक्षालाई संवोधन गर्न सकेका छैनन् । जनआक्रोशको यस माहोललाई भढकाउँन जनतन्त्र विरोधीहरु आगोमा मट्टीतेल छर्किने काम गर्दै छन् र नयाँ भाष्य गढन थालेका छन्– संघीय व्यवस्था खर्चिलो भयो । दुई दर्जन संघीय मन्त्री, सात थान मुख्यमन्त्री, झण्डै एक सय थान मन्त्री, २७५ थान संघीय सांसद, ५०० थान प्रदेश सांसद, ७५३ थान स्थानीय तहका ७५३ वटा छोटे राजाहरुको खर्च धान्न गाह्रो भयो ।

संघीय व्यवस्था खारेज गर्रौ । धर्मनिरपेक्षता खारेज गरौं । पछिल्ला चार महिना यता नक्कली भुटानी सरनार्थी, ललितानिवास जग्गा तथा ११ किलो र ६० किलो गरी दुई सुन तस्करीका घटनाहरु सार्वजनिक भएका छन् । घटनामा संलग्न रहेको आरोपमा झण्डै एक सय जना पक्राउ पनि परेका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खांड, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहितका शीर्ष नेतासंगै केहि थानबहालवाला सचिवहरुपनि पक्राउ परि सकेका छन् भन्ने नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा तथा पूर्व उप राष्ट्रपति नन्दलाल पुन र उनका छोरा अनुसन्धानको दायरामा छन् ।

यी घटनाहरुले आमनागरिकमा– ‘ देश बनाउँन गएकाहरु देश लुट्न थालेको ’ भाष्य बन्नु स्वाभाविक हो तर आमनागरिकले के पनि हेक्का राख्नु पर्ने हो भन्ने –वर्तमान सरकारकै इच्छाशक्तिले यस्ता घटनाहरु सार्वजनिक भएको हो । सरकारले चाहेर नै हो– ठुला माछाहरु पनि खोरमा जाकिएका हुन् । हो, पक्राउ पर्नेहरुको लिस्ट हेर्दा प्रमुख प्रतिपक्ष नेकपा एमालेले सरकारले काखापाखा गरेको आरोपलाई इन्कार गर्न भने सकिदैन ।

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेर तरुण दलको केन्द्रीय सभापति, संविधान सभा सदस्य, संघीय मन्त्री तथा पार्टीको सह महामन्त्री जस्तो पदमा काम गरि आफूलाई राष्ट्रिय व्यक्तित्वको रुपमा स्थापित गरेका महेन्द्र यादवमाथिको सांघातिक आक्रमण सरकार, राजनीतिक दल तथा दलका शिर्ष नेताहरुकालागि ठूलै सबक हो । रिपोर्टस क्लबमा आयोजित प्रवचनमा राप्रपा नेपालका महासचिव धवलशमशेर राणा र राजनीतिक विश्लेषक विजयलाल कर्ण पनि थिए ।

आक्रमणकारीले यीमध्ये महेन्द्र यादवमाथि नै किन खुकुरी प्रहार गरे ? रिपोर्टस क्लबमा यादवले चिनियाँ राजदूतको आलोचना गरेका थिए रे । बालकृष्ण खांडलाई फंसाइएको हो भनेका थिए रे । आक्रमणकारीलाई यादवको अभिव्यक्ति मन नपरेर उनीमाथि आक्रमण गरेको हो भने उनी झोलामा खुकुरी बोकेर किन गएका थिए? यसले के पनि प्रमाणित गरेको छ भने श्यामबाबू भनेको व्यक्तिपूर्व नियोजित योजना अनुसार महेन्द्र यादवमाथि नै आक्रमण गर्ने नियतले कार्यक्रम स्थलमा पुगेका थिए ।

अचेल सरकार र केही मिडिया श्यामबाबूको मानसिक अवस्था ठिक नभएको, उनी आपराधिक पृष्ठ भूमिको नभएको जस्ता विषय उठाएर घटनाको छानविन र अनुसन्धानलाई कमजोर बनाउन खोज्दै छन् । जो उचित होईन । नेताजीहरु हो, यस घटनालाई – बुढी मरिन भन्दा पनि काल पल्केको उखानसंग दांजेर विश्लेषण गर्नु होला । आफूमा भएका कमी कमजोरी यथाशीघ्र हटाउनु होला अन्यथा आक्रोशको आगोमा मट्टीतेल छर्किनेहरु तम्तयार छन् । जुनसुकै बेला आगो लगाउन सक्छन् ।

Comment


Related News

Latest News

Trending News