अपडेट 
२०८० भाद्र २४, आईतवार ०९:००

भगवान श्रीकृष्णको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच भएको झडपलाई लिएर सर्लाहीको मलङ्वा तनावग्रस्त बनेको छ ।

शुक्रबार साँझ मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएको थियो । दुई समुदायबीच शनिवार पनि झडप हुन थालेपछि स्थानीय प्रशासनले साँझदेखि मगलंवा नगरपालिकाको वरिपरिको क्षेत्रमा कफ्र्यु लगाएको छ । भगवान श्रीकृष्णको मूर्ति सेलाउन जाने क्रममा एउटा समुदायका मानिसहरुले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

शुक्रवार राति केही बेरको तनावपछि स्थिति सामान्य भएको थियो । तर शनिवार बिहानदेखि नै स्थिति बिग्रेको थियो । नगर क्षेत्रमा शुक्रवार राति भएको झडपको क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकाहरु मूर्ति विसर्जन गर्ने पक्षको रहेको बताइएको छ । आक्रोशित युवाहरुले शनिबार चोक– चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन र सम्भावित दुर्घटना हुन नदिन मलङ्वा बजार क्षेत्रमा भारी संख्यामा प्रहरी परिचालन गरिएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गर्नु परिरहेको छ । शुक्रवार स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्याँस र एक राउण्ड हवाई फायर गरेको थियो । स्थिति तनावका कारण शनिबार बिहानदेखि नै मलंगवा बजार पूर्ण रुपमा बन्द रहेको छ । बिहान सर्लाही जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय/सर्वपक्षीय बैठक बसेको थियो ।

बैठकले समाजमा सामाजिक सद्भाव कायम राख्न सबै धर्म, वर्ग र समुदाय समक्ष अपील गरेको थियो । तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले दिउँसो ४ बजेदेखि आइतवार बिहान ८ बजेसम्म कफ्र्यु लगाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिवार साँझ ५ बजेदेखि आइतवार बिहान ८ बजेसम्म कर्फ्यु लगाइएको बताएका छन् ।

शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको श्रीकृष्णको मूर्ति विसर्जन गरी फर्किने क्रममा दुई पक्षबीच विवाद भएको थियो । विवादहुँदा ढुंगा हानाहान र झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले बताए । ढुंगा लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरी समेत घाइते भएका छन् । दिउँसो फेरि दुवै पक्षबीच ढुंगा हानाहान हुनथालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ सेल आश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक सुवेदीले बताए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल– भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोलपम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ । घटनास्थलमा अहिले उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रदर्शन र ढुङ्गामुढाका कारण बिहानैदेखि मलङ्गवा बजार क्षेत्रको पसल बन्द छन् । बिहानैदेखि यहाँबाट चल्ने साना तथा लामो दूरीका यातायातका साधन चल्न सकेको छैन । यसैबिच विश्वहिन्दू परिषदले शनिवार जारी गरेको विज्ञप्तिमा सर्लाही जिल्लाको मलङ्गवामा श्रीकृष्ण जन्माष्टमीको मुर्ति विसर्जन यात्रामाथि भएको आक्रमणको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिहादी मानसिकता भएका तत्वहरुद्वारा घटाइएको उक्त घटनाको विश्व हिन्दू परिषद नेपाल घोर भत्र्सना गरेको उल्लेख गर्दै विज्ञप्तिमा घटनामा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकाय समक्ष जोडदार माग गरिएको छ । नेपाल बहुसंख्यक हिन्दूहरु बसोवास गर्ने देश हो । हिन्दू धर्म ‘बसुधैव कुटुम्बकम’ अर्थात संसार एक परिवार हुन भन्ने मान्यतामा विश्वास गर्ने शान्तिप्रिय धर्म हो । हिन्दू धर्मले कहि कतै हिंसा, भेदभाव, कट्टरता जस्ता कृत्यहरुलाई प्रश्रय दिएको छैन ।

विश्व आज एक विशेष समुदायको कट्टरताले आतंकित रहेको सर्वविदितै रहेको विज्ञप्तिमा उल्लेख छ । एक्कासी भक्तजनहरु माथि घरभित्रबाट अश्लील गालीगलौज सहित, तातोपानी फ्याक्न तथा ढुङ्गामुढा गर्न थालेपछि स्थानीय भक्तजनहरु गम्भीर घाइते भएको परिषदले आरोप लगाएको छ । महिला तथा बालबालिका समेतलाई लक्षित गरी आक्रमणको घटनाले सम्पूर्ण सनातन हिन्दु समाजलाई आहत एवं आक्रोशित बनाएको परिषदले जनाएको छ ।

आतंकी तथा अपराधी प्रवृतिका तत्वहरुको समय मै कानुनी उपचार हुन नसक्दा सर्लाही लगायतका जिल्लाहरुमा यस्ता घटना घटाउन उनीहरुको मनोवल बढेको देखिन्छ । आपसी एकता कायम राख्दै अपराधीहरूलाई कानुनी दायरामा ल्याउन परिषदले माग गरेको छ । स्थानीय बासिन्दाहरुका अनुसार हिन्दू सम्राट सेनाले पनि सकृयता देखाएको छ । सर्लाही जिल्लामा गत वर्ष पनि यस्ता घटना भएको थियो । दुई समुदायबीच श्रीकृष्णाष्टमी, दुर्गापुजामा मूर्ति सेलाउने बेलामा हुने यस प्रकारको घटना हुने गरेको छ ।

Comment


Related News

Latest News

Trending News