अपडेट 
२०८० भाद्र २५, सोमबार ०८:०३

सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा दुई समुदायबीच भएको झडपमा मुस्लिम आयोगले चासो देखाएको छ ।

भगवान श्रीकृष्णको मूर्ति बिसर्जन गरी फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप भएको थियो । परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २८ राउण्ड अश्रुग्यास र १ राउण्ड हवाईफायर गरेका थिए । शनिवार कफर्यू लगाइएको थियो । जनजीवन सामान्य हुन थालेपछि आइतवार कफ्र्यू हटाइएको छ । तर सो क्षेत्रमा कुनै प्रकारको जुलुस प्रदर्शनमा रोक लगाउन निषेधाज्ञा लगाइएको छ ।

मुस्लिम आयोगले आइतबार विज्ञप्ति जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र सो समुदायका धार्मिक धरोहरप्रति आक्रमण गरी अशान्ति फैलाउन खोजेको भन्दै आयोगले गम्भीर चासो प्रकट गरेको छ । मधेश प्रदेशका धनुषा, महोत्तरी, पर्सा र सर्लाहीमा केही समूहले सामाजिक सद् भाव विथोल्ने प्रयास गरेको भन्दै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रहरी महानिरीक्षक सहित स्थानीय प्रशासनका अधिकारीलाई शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

यसैगरी आयोगका तर्फबाट शाखा अधिकृत विमला भूसालद्वारा जारी विज्ञप्तिमा धार्मिक सहिष्णुता खल्बल्याई समाजमा अशान्ति सिर्जना गर्ने व्यक्तिहरुको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याएर समाजमा शान्ति र अमनचयन कायम गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । आयोगले समाजमा शान्ति र अमनचयन कायम गरी सबै धर्म, समुदायहरुले धर्म र आस्थाप्रति सम्मान व्यक्त गर्न र धार्मिक सहिष्णुता बचाइराख्न अपिल पनि गरेको छ ।

यस अघि विश्वहिन्दू परिषद्ले हिन्दू धर्मावलम्बीहरुले भगवान श्रीकृष्णको मूर्ति बिसर्जन गरी फर्किने एउटा समुदायका मानिसहरुले ढुंगामुढासहित आक्रमण गरेको आरोप लगाएको थियो । परिषद्ले घटनामा घाइते भएका हिन्दू युवाहरुको स्वास्थ्य लाभको कामना गर्दै प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई रिहा गर्न माग गरेका थिए ।

दुई समुदायबीचको झडपको क्रममा प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई आइतवार रिहा गरेको छ । स्थानीय राजनीतिकर्मीहरुले सामाजिक सद्भावलाई कायम गर्न सबैलाई आग्रह गरेका छन् । प्रहरीले हिन्दू सम्राट सेनाका उपाध्यक्ष लगायतका कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । केही घाइतेहरुको अस्पतालमा अझै उपचार भइरहेको छ । मूर्ति सेलाउने क्रममा ब्रम्हपुरीमा पनि दुई समुदायबीच विवाद उत्पन्न भए पनि तत्काल नै समाधान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News