अपडेट 
२०८० भाद्र २७, बुधबार ०८:१७

एक युवाको कुटेर हत्या गरेको आरोपमा चलिरहेको मुद्दा उपर सुनुवाई गर्दै अदालतद्वारा बाबु छोरीलाई तीन/तीन वर्ष कैद सजाय ठहर हुने फैसला गरेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङनामको इजलासले मंगलबार चार वर्ष अघि भएको कर्तव्य ज्यान मुद्दाका आरोपि राजविराज ७ का बिन्देश्वर प्रसाद यादव र उनका छोरी सन्तोषीलाई जनही ३/३ वर्ष कैद र ३०/३० हजार जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

२०७६ साल असार १० गते यादव बाबु छोरीसहित ८ जना माथि सप्तरीको तिरहुत गाउँपालिका ३ पिपराहीका २५ वर्षीय जयकृष्ण बिराजी यादवको कुटेर हत्या गरेको आरोपमा मृतकका बुबा उपेन्द्र प्रसाद यादवको जाहेरीले कर्तव्य ज्यान मुद्दामा अदालतले यस्तो फैसला गरेको छ । उक्त मुद्दामा प्रतिवादी बनाइएका अन्य ६ जना क्रमश : राजविराज नगरपालिका वडा नं. ७ शुभासचन्द्र यादव, श्रवणकुमार मेहता, शशिआनन्द देव, कमलदेव यादव, प्रमोद कुमार यादव र योगेश कुमार देवलाई भने अदालतले सफाई दिएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए ।

२०७६ साल असार १० गते रातिमा बाबु छोरीसहित ८ जनाको समूहले बाँसको भाटा, रड लगायतका वस्तुले जयकृष्णमाथि निर्घात कुटपिट गरेको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले अदालतमा पेश गरेको कागजात प्रमाणमा उल्लेख छ । त्यति बेला जयकृष्णको मृत्युपछि आक्रोशित उनका आफन्तजनले आरोपिहरुलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै दिनहुँजसो राजविराजमा प्रदर्शन गर्न थालेका थिए । प्रहरीले बाबु छोरीसहित ८ जनालाई प्रतिवादी बनाइ कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि मात्र प्रदर्शन साम्य भएको थियो ।

प्रहरीले हत्याको कारण सार्वजनिक नगरे पनि जयकृष्णको हत्यामा भने प्रेम सम्बन्धको विषय कारण रहेको स्थानीयले बताउँदै आएका छन् । कुटेर हत्या गरिएका बिराजी राजविराजस्थित पिसजोन स्कुलको छात्रावासका प्रमुखसँगै सोही विद्यालयमा अध्यापनको काम समेत गर्दै आएका थिए ।

Comment


Related News

Latest News

Trending News