
किसानका लागि अमेरिका स्थित एउटा संस्थाले ट्रैक्टर खरिदमा अनुदान दिने भन्दै केही व्यक्तिहरुले किसानहरुसित अग्रिम रुपैयाँ उठाउन थालेका छन् ।
एन्टा एशोसिएशन अफ नेपालको माध्यमबाट तराई इन अमेरिका नामको संस्थाले ट्रैक्टर खरिदका लागि किसानलाई ४० प्रतिशत अनुदान दिने बताउँदै रकम असुली गरिरहेको छ । किसानले ६० प्रतिशत लगानी गर्नुपर्ने र ४० प्रतिशत अनुदान संस्थाले दिने भन्दै किसानहरुलाई प्रलोभनमा पारेर रकम असुली गरिरहेको पाइएको छ ।
मिथिला नगरपालिका वडा नम्बर ५ ढल्केवर घर भएका बद्री नारायण महतोले धनुषामा ३०, महोत्तरीमा ५० र सिरहा जिल्लामा ८० वटा ट्रैक्टरको कोटा आएको बताएका छन् । हुन त उनी आफू पनि ट्रैक्टर लिनका लागि नै उनीहरुको सम्पर्कमा आएको बताए । तर उनी पनि एन्टामा आबद्ध रहेको उनको गतिविधिले देखिन्छ । महोत्तरी जिल्लाको सामुदायिक वन कार्यालयमा कार्यरत्त रहेकी अञ्जु चौधरी एन्टाको कार्यकर्ता रहेको महतोले बताए । ‘म आफ्ना एकजना गाउँले साथीको सम्पर्कबाट एन्टाका मानिसहरुको सम्पर्कमा गएको थिए’ उनले भने, एन्टामा मेरो संलग्नता कतै छैन् ।
यिनीहरुले विभिन्न ट्रैक्टर कम्पनीको शो रुममा सम्पर्क गरी किसानहरुले सोधखोज गरे ट्रैक्टर आइरहेको बताइ दिन आग्रह गरिरहेका छन् । तर शो रुमका सञ्चालकहरुले उनीहरुको प्रलोभन अस्वीकार गरेपछि ट्रैक्टर सहितको ट्रक भारतको बनारसमा रोकिएको बताउन थालेका छन् ।
हाल जनकपुरधामको बजारमा ट्रैक्टरको मूल्य साढे १२ लाखदेखि सुरु भएर १६ लाखसम्म पर्ने गरेको छ । किसानहरुबाट एडभान्स भन्दै एन्टाका सदस्यहरुले १ लाखदेखि माथि रकम उठाउन थालेको पाइएको छ । महतोले पञ्जाबबाट सोनालिका ट्रैक्टर बोकेको ट्रक बनारसमा रोकिएको र चाँडै नेपाल आउने बताउने गरेका छन् । उनले किसानलाई दिने ट्रैक्टर सोनालिका रहेको बताए ।
सोनालिका ट्रैक्टर जनकपुरधामका डिलर एस इन्टरनेशनलका सञ्चालक सन्दिप अग्रवालले कुनै प्रकारको अनुदानका लागि सोनालिका ट्रैक्टर बुकिंग नभएको बताए । ‘सोनालिका ट्रैक्टरको पञ्जाबस्थित कार्यालयले समेत नेपालमा अनुदान उपलब्ध रहेको ट्रैक्टर नपठाएको बताएको छ ’ अग्रवालले भने, सोनालिका ट्रैक्टर पञ्जावबाट गोपालगञ्ज हुँदै नेपालमा आउने गरेको छ । किसानहरुसित ठगी भइरहेको हुनसक्ने बताउँदै उनले भने, म कहाँ एकजना महतो आएर तपाईलाई कसैले फोन गरे अनुदानको ट्रैक्टर आइरहेको भनिदिन आग्रह गरेका थिए । तर मैले अस्वीकार गर्दै हाम्रो कम्पनीमा त्यस्तो कुनै अनुदान नआएको र झुठो बोलेर किसानलाई फसाउने काम समेत गर्न नसकिने जवाफ दिएको उनले बताए ।
विगतमा मधेश प्रदेश सरकारले ट्रैक्टरमा अनुदान दिएर किसानलाई वितरण गरेको थियो । त्यसमा पनि व्यापक अनियमितता भएको थियो । कमिसनको आधारमा किसानहरुलाई अनुदानको ट्रैक्टर वितरण गर्ने आरोप तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमाथि लागेको थियो । किसानहरुले फेरि अनुदानमा ट्रैक्टर उपलब्ध हुने प्रलोभनमा परेर ठगिन लागेको बताइन्छ ।
सामुदायिक वन कार्यालय महोत्तरीको माध्यमबाट ट्रैक्टर वितरण हुने भनिएको महतोले बताए । उनका अनुसार एन्टा एशोसिएशन अफ नेपाल मार्फत अमेरिकाबाट अनुदान आएको हो । यस सम्बन्धमा सरकारी निकायहरु भने अनभिज्ञ रहेका छन् । स्थानीय निकायहरुले पनि अनुदानमा ट्रैक्टर बितरण हुने विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।