अपडेट 
२०८० भाद्र २९, शुक्रबार ०७:००

आर्थिक कारोबार गर्ने सफ्टवेयरमा समस्या देखिएपछि पछिल्लो दुई महिनादेखि मधेश प्रदेश सरकारको आर्थिक कारोबार ठप्प भएको छ ।

संघीय सरकारले प्रदेश सरकारलाई उपलब्ध गराउने बजेट प्रदेश सरकारको आर्थिक कारोबार गर्ने सफ्टवेयर प्रोभिन्स लाईन मिनिस्ट्री बजेट इन्फोरमेसन सिस्टम (पीएलएमबीआइएस) मा नदेखाएपछि मधेश प्रदेश सरकारको आर्थिक कारोबार चालु आर्थिक वर्षदेखि अहिले सम्म ठप्प हुन पुगेको छ ।

संघीय सरकारले लाईन मिनिस्ट्री बजेट इन्फोरमेशन सिस्टम (एलएम)मार्फत प्रदेश सरकारहरुको प्रोभिन्स लाईन मिनिस्ट्री बजेट इन्फोर मेसन सिस्टममा पठाउने गर्छ । प्रदेशले प्रदेश लेखा नियन्त्रक कार्यालयको टिएसए सफ्टवेयर मार्फत विभिन्न मन्त्रालय तथा मन्त्रालय मातहत रहेका कार्यालयहरुलाई निकासा दिने गर्छन ।

अर्थ मन्त्रालयका एक कर्मचारीका अनुसार संघीय सरकारको एलएमबिआईएस, प्रदेश सरकारको पिएलएमबिआईएस र प्रदेश लेखा नियन्त्रक कार्यालयका टिएसए सिस्टम एक आपसमा जोडिएको हुन्छ । यसरी संघीय सरकारले पठाएको बजेट प्रदेश सरकारको सिस्टममा देखिएपछि प्रदेश लेखा नियन्त्रक कार्यालयले सोही आधारमा मन्त्रालयको भुक्तानी आदेश अनुसार रकम निकासा दिने गर्छन । तर तीन निकाय जोडिएको सफ्टवेयरमा समस्या देखिएकोले आर्थिक कारोबार ठप्प हुन पुगेको मधेश प्रदेशका अर्थ मन्त्रालयले जनाएको छ ।

यसरी सफ्टवेयरमा समस्या आएपछि मधेश प्रदेशका कर्मचारीहरुले साउनदेखि तलवसहितका सेवा सुविधा पाउन सकेका छैनन् । मन्त्रालयका दैनिक कार्यमा खर्च हुने रकमको पनि भुक्तानी हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीले भने,‘ मन्त्रालयमा हुने दैनिक खर्च सवारी इन्धन, फोटो काँपी पेपरदेखि विभिन्न आर्थिक कारोबार उधारोमा हुने गरेको छ । संघीय र स्थानीय नभइ प्रदेश सरकारलाई मात्रै सफ्टवेयरको समस्या रहेको ती कर्मचारीले बताए । यद्यपि प्रदेश अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले केही दिन सिस्टमले कामगर्दा केही मन्त्रालयका कर्मचारीहरुले तलव पाए पनि केही मन्त्रालयका कर्मचारीहरुले पाउन नसकेको बताए । ‘प्रविधिमा समस्या आएकाले आर्थिक गतिविधि रोकिएको छ ’ उनले भने, समस्या समाधानका लागि प्रयास जारी रहेकाले केही दिन भित्रै सेवा सुचारु हुनेछ

। समस्या समाधानका लागि पहल गरिरहेको उनले बताए । मधेश प्रदेशका लेखा नियन्त्रक कार्यालयका प्रवक्ता मनोज झाले सफ्टवेयरमा समस्या देखिएकोले भुक्तानीहरु ठप्प रहेको बताए । सफ्टवेयरमा समस्या छ, उनले भने,‘ त्यसलाई ठिक गर्ने काम भइरहेको छ । सिस्टम ठिक नभएकाले प्रदेश सरकारको बजेट खर्चको कुनै हिसाब नलेखिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News