अपडेट 
२०८० भाद्र २९, शुक्रबार ०७:२२

संघीय राजधानी काठमाण्डुबाट दोस्रो कम दूरीको सिमरा विमानस्थलको स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ ।

बारा, पर्सा र रौतहट जिल्लाका अतिरिक्त भारी संख्यामा भारतीय नागरिकहरुले हवाई यात्रा गर्ने सिमरा विमानस्थलको अवस्थामा सुधार गर्न सरकारले बजेट दिएको छ । नागरिक उड्डयन प्राधिकरणले बाराको सिमरा विमानस्थलको स्तरोन्नतिका लागि ५ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट् याक्सी–वे तथा एप्रोन (पार्किङ) निर्माण तथा विस्तारका लागि ९६ करोड ७३ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये सिमरा विमानस्थलको भागमा ५ करोड २४ लाख रुपैयाँ परेको हो । सिमरा विमानस्थलको ट्याक्सी–वे ओभरले र विमानस्थल सुरक्षाका लागि तार–बार गर्नका लागि ५ करोड २४ लाख ४४ हजार रुपैयाँ छुट्याइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।

प्राधिकरणका अनुसार सिमरा विमानस्थलमा गत आर्थिक वर्ष २०७९/८० मा भने १० करोड १६ लाख ४१ हजार रुपैयाँको लागतमा सम्झौता भएको थियो । सिमरा विमानस्थलबाट हवाई यात्रा गर्नेहरुको चाप अत्यधिक रहे पनि विमानस्थलको स्तर कमजोर छ । मधेश प्रदेशमा ३ वटा विमानस्थल रहेका छन् । सिमरा, जनकपुरधाम र राजविराज विमान स्थल मध्ये सबै भन्दा पछि नियमित उडान सुरु भएको राजविराज हो । प्रदेशको राजधानी जनकपुरधामबाट दैनिक ८ वटा भन्दा बढी विमानले उडान भर्ने गरेका छन् ।

जनकपुरधाम विमानस्थल प्राधिकरणको गुरुयोजनामा परेको छ । जग्गा अधिग्रहण, संरचना निर्माण लगायतमा बजेट आवश्यक रहेको छ । विमानस्थल गुरुयोजनामा रहेकाले केन्द्रबाट नै प्राधिकरणले बजेट विनियोजन गर्ने कार्यालय प्रमुख भिमदत्त पन्तले बताए ।‘प्राधिकरणले खण्डे योजनाको रुपमा काम अगाडि बढाउँदै आएको उनले बताए ।

राजविराजमा पनि बजेट दिइएको छैन् । यस्तै विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि १० करोड, धनगढी विमानस्थलका लागि १ करोड २० लाख, मुगुको ताल्चा विमानस्थलका लागि ४ करोड ४४ लाख २४ हजार, इलामको फाल्गुननन्द सुकिलुम्बा विमानस्थलका लागि १ करोड र गोरखाको पालुङटार विमानस्थल सुदृढीकरणका लागि ४ करोड ४२ लाख ४७ हजार रुपैयाँ छुट् याइएको प्राधिकरणले जनाएको छ । नेपाल आयल निगमले दशैँअगाडि सिमरा विमानस्थलमा रिफ्यूलर राख्ने भएको छ । नेपाल आयल निगमले दशैँअगाडि सिमरा, र भरतपुरमा रिफ्युलर (हवाईजहाजमा इन्धन भर्ने ट्यांकर) राख्न लागेको हो ।

इन्धन भर्ने सुविधा नहुँदा हवाईजहाजले काठमाण्डुबाटै दुईतर्फी उडानका लागि आवश्यक इन्धन बोक्ने गरेका छन् । नेपाल आयल निगम अमलेखगञ्ज प्रादेशिक डिपोका कर्मचारी सन्दिप बरालले विमानस्थलमा चाँडै रिफ्युलर पठाएर इन्धन सुविधा प्रदान गर्न लागिएको बताए । विमानस्थलमा इन्धन भर्ने सुविधा नभएपछि इन्धन भर्ने सुविधाको माग गर्दै जीतपुर सिमरा उपमहानगरपालिकालगायतका स्थानीय तह, नागरिक उड्डयन प्राधिकरणमातहतको विमानस्थल कार्यालय र हवाईजहाज कम्पनीले लिखित पत्राचार गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अब दसैँअगाडि नै अस्थायी रूपमा भए पनि इन्धन भर्ने सुविधा प्रदान गर्न थालिनेछ ।

आयल निगमले धेरै तेल खपत हुने भद्रपुर, विराटनगर, जनकपुर, काठमाण्डु, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढीलगायतका विमानस्थललाई उच्च प्राथमिकता दिएर विमानस्थल परिसरमै हवाई इन्धन डिपो स्थापना गरेको छ । काठमाण्डुबाट सबै भन्दा कम दुरीमा भरतपुर विमानस्थल र दोस्रो कम दुरीमा सिमरा विमानस्थल रहेका छन् । भरतपुर नजिक भएपनि पहाडी भेग भएकाले विमानलाई उडान भर्ने समय सिमराको कम रहेको छ ।

Comment


Related News

Latest News

Trending News