अपडेट 
२०८० भाद्र २९, शुक्रबार ०७:२६

राजविराज वडा नं.१ चनौरा पडरियास्थित आशिमियाँ दारुलउलम मदरसामा विवाद देखिएको छ ।

नगरपालिकाले दिएको थोरै अनुदान रकमका आधारमा न्यून तलब लिएर पनि काम गर्दै आएका शिक्षकहरुलाई आर्थिक मार पर्ने गरी थप एक शिक्षक नियुक्तिको प्रयास भएपछि मदरसामा विवाद देखिएको छ । राजविराज नगरपालिकाले शिक्षा शाखा मार्फत उक्त मदरसालाई दिँदै आएको २ लाख ४१ हजार रुपैयाँ मध्येबाट मासिक ८ हजार ३ सय ३३ रुपैयाँ तलबमा दुई जना शिक्षक काम गर्दै आएका थिए ।

अहिले सोही अनुदान रकमबाट तलब खाने गरी तेश्रो व्यक्ति नियुक्तिको प्रयास गर्दा घटेर मासिक ५ हजार ५ सय ५५ रुपैयाँ तलब भागमा पर्ने भएपछि शिक्षक र व्यवस्थापन समितिका अध्यक्षबीच विवादले तीव्रता पाएको छ । विवाद तीव्र हुँदै गएपछि बिहीबार मदरसा परिसरमै बसेको प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र अभिभावकको भेलामा समेत एक अर्कामाथि आरोप प्रत्यारोप बाहेक कुनै समस्या समाधान हुन सकेन ।

मदरसाका प्रधानाध्यापक रुबिना बेगमले नगरपालिकाबाट अनुदान स्वरुप आउने वार्षिक २ लाख ४१ हजार रुपैयाँ मध्ये ४१ हजार मरदसा व्यवस्थापन समितिका अध्यक्ष आशिन मियाँले स्वयम लिने गरेको र बाँकी २ लाख मध्येबाट आफू र मौलबीसहित दुई जनाको तलबमा खर्च हुने गरेको बताइन् ।

वार्षिक प्राप्त हुने २ लाख रुपैयाँले २ जना शिक्षक मासिक जनही ८ हजार ३ सय ३३ रुपैयाँ तलब पाउने गरेकोमा अहिले सोही अनुदान रकमबाट तलब खाने गरी मदरसा व्यवस्थापन समितिका अधयक्ष आशिन मियाँले आफन्त पर्ने तेश्रो व्यक्ति नियुक्तिको प्रयास गर्दा आफूहरु मारमा पर्ने प्रधानाध्यापक रुबिना बेगमको भनाइ छ । “पहिलेदेखि नै न्यून तलबमा काम गर्दै आएका छौं, प्रअ बेगमले भनिन् –अब सोही बजेटबाट तलब पाउने गरी मनपरी ढंगले अध्यक्षले थप एक जना मौलबी राख्न खोजेपछि हाम्रो तलब घटेर ५ हजार ५ सय ५५ रुपैयाँ पुग्ने भएकाले विरोधमा उत्रेका हांै ।” उनले आफूहरुलाई जागिर छाड्न बाध्य बनाउन र आफन्तलाई भर्ना गर्ने नियतले अध्यक्षले गैर कानुनी ढंगले थप एक जना मौलबीलाई गत २०८० जेठ ४ गतेदेखि काममा लगाएर नियुक्ति पत्रका लागि आफूहरुमाथि दबाब बढाउँदै लगेको आरोप लगाए । उनले नगरपालिकाबाट अनुदान वापत प्राप्त हुने २ लाख ४१ हजार मध्ये ४१ हजार अध्यक्ष आशिनले आफै राख्ने गरेकोमा उक्त रकम फिर्ता गर्नु पर्ने माग समेत गरेकी छन् ।

मदरसाका शिक्षक मो. युनिसले व्यवस्थापन समितिको बैठक कहिले नबसेको र अध्यक्षले आफूखुशी निर्णय गरी घरघरमा गइ दबाब दिएर समितिका सदस्यहरुसँग निर्णय पुस्तिकामा हस्ताक्षरको प्रयास गर्ने गरेको बताए । अध्यक्ष आशिनले भने, मदरसा व्यवस्थापनका लागि आफूले ४१ हजार लिने गरेको दाबी गरेका छन् ।

यस्तै उनले मदरसामा थप शिक्षकको आवश्यकता महसुस भएकाले एक जनालाई राख्न लागेको भेलामा स्पष्टीकरण दिएका छन् । ८४ जना बालबालिका अध्ययन गर्ने उक्त मदरसामा उर्दु, अरबी, दिनियातका साथै नेपाली, अंग्रेजी र गणित विषयको पढाइ हुन्छ । तर आवश्यकता अनुसारको शिक्षक अभाव भएपछि थप एकजना मौलबी राखिएको उनले स्पष्ट पारेका छन् ।

आवश्यक बजेटको खोजी र व्यवस्थापन नगरी पहिलेदेखि नै थोरै तलबमा काम गर्दै आएका शिक्षकको तलब कटौती गरी थप शिक्षकको भर्ना गर्न उचित छ त ? भनी भेलामा अभिभावकहरुले राखेको प्रश्नको अध्यक्ष आशिनले कुनै चित्त बुझ्दो जवाफ दिन नसकेको अभिभावक अपसाना खातुनले बताइन । अहिले थप शिक्षक राख्ने अवस्था र आवश्यकता दुबै छैन्, अर्का अभिभावक अमिना खातुनले भनिन –अध्यक्षले यसरी नै मनोमानी गर्ने हो भने हामी आफ् ना सन्तानलाई यहाँबाट हटाएर अर्को विद्यालयमा भर्ना गराउँछौ । अभिभावक सखेला खातुनले थप शिक्षक राख्ने नै हो भने अधयक्षले पहिला थप बजेटको व्यवस्था गर्नु पर्ने माग गरिन ।

भेलामा अध्यक्ष आशिनले उल्टै जागिरबाट हटाइदिन्छु भनि धम्की दिएको भन्दै प्रअ, शिक्षक र अभिभावकले उनी विरुद्ध नगरपालिका, शिक्षा समन्वय इकाइ तथा अन्य निकायमा उजुरी दिने निर्णय गरेको प्रअ बेगमले बताइन । २०६६ सालमा स्थापित उक्त मदरसामा उत्पन्न विवादले बालबालिकाको पठनपाठनमा समेत असर पार्ने भन्दै स्थानीयले यसको सत्यतत्य छानबिन गरि अविलम्ब समस्या समाधान गर्न माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News