अपडेट 
२०८० भाद्र ३०, शनिबार ०८:४४

अनिल तिवारी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाद्धारा दुई दिन अघि हटाइएका नगर प्रहरी अधिकृत शुक्रबार पनि ड्यिुटिमा खटेको पाइएको छ ।

दुई महिना अगाडि मात्र नगर प्रमुख राजेशमान सिंहद्वारा ठाडो नियुक्ति पाएका नगर प्रहरी उपनिरीक्षक लाल प्रसाद लुइटेल शुक्रबार पनि ड्यिुटिमा खटेका छन ।

वीरगञ्ज महानगरपालिकाले गैरकानूनी रुपमा भर्ना गरेका ४ सय ५० जना दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ । त्यसै क्रममा नगर प्रहरी अधिकृत लुइटेल पनि खारेजीमा परेका हुन ।

शुक्रबार दिउँसो नगर प्रहरीको पोशाकमै ड्यिुटि कक्षमा काम कारबाही गरेको देखेपछि आश्चर्य व्यक्त गर्दै एक नगर प्रहरीले भने,‘यो वीरगञ्ज महानगरपालिका हो ,यहाँ जे पनि हुन्छ, सेटिंगमा खारेजी भएको कर्मचारी हाजिर हुनु कुनै अस्वाभाविक होइन।’ वीरगन्ज, मुलुकको प्रमुख प्रवेशद्वार मात्रै होइन, लाइफलाइन र ट्रान्जिट प्वाइन्ट पनि हो । जसले गर्दा मधेश प्रदेशको एक महानगरको रुपमा रहेको वीरगञ्ज महानगरलाई मुलुकको आर्थिक राजधानीको रुपमा पनि चिनिने गरिन्छ । तर केही समय यता वीरगञ्जको ‘निकनेम’ सेटिगञ्जको रुपमा परेको छ ।

मुख्य रुपमा वीरगञ्ज महागनरपालिकामा हुने गरेका अधिकांश काम कारबाहीहरु सेटिंगमै हुने गरेकोले केही समय यता देखि युवाहरुले वीरगञ्जलाई सामाजिक सञ्जालमा व्यंग्यको रुपमा सेटिंगगञ्ज भएको लेख्दै आएका छन् । दुई महिना अगाडि दैनिक ज्यालादारीमा नियुक्ति भएका नगर प्रहरी अधिकृत लुइटेलको घर भएतापनि उनी महानगरपालिकाकै क्वाटरमा बस्दै आएका छन । खारेजीमा परेको दुई दिन बितिसक्दा पनि उनले क्वाटर छाडेका छैनन् ।

नियुक्ति भएको साउन महिनामा २२ दिन र भदौमा २६ दिन मात्र लुइटेलको हाजिरी छ । तर उनी दुई महिनाको तलब भत्ता पूरा खाएका छन । जुन दैनिक ज्यालादारी नियमको विपरीत पनि हो ।

शुक्रबार दिउसो प्रमुख प्रशासकीय अधिकृतकक्ष अगाडि खटेका लुइटेलले आफ्नो खारेजीको बारेमा अनभिज्ञता व्यक्त गरे । तपाई ड्यिुटिमै हो ? प्रश्न गर्दा उनले अनभिज्ञता जाहेर गर्दै भने, जवाफ फर्काए ‘इन्चार्जसंग सोध्नुस ।’ वीरगन्ज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भूषालले नगर प्रहरी अधिकृत लुइटेल खारेजीमा परेको स्वीकार गर्दै भने,‘ सर उहाँ मेयर साहेबको बाटो मात्र पर्खेको हो ।’ मेयर, उपमेयर र प्रशासकीय अधिकृतको भागवन्डामा गरिएको अवैध नियुक्तिको बारेमा अख्तियार दुरुपयोग आयोगले कारबाही अगाडि बढाए पछि लगभग साढे चार सय कर्मचारी खारेजीमा परेका छन ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले मंगलबार एक सूचना जारी गर्दै कर्मचारीहरुलाई बर्खास्त गरेका थिए । उनले जारी गरेको सूचनामा विभिन्न मिति र पदमा कामकाज गर्दै आएका दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीलाई सोही मितिदेखि कामकाजमा नलगाउने गरी बर्खास्त गरिएको जानकारी गराइएको थियो ।

स्थानीय निर्वाचनपछि फेरिएको मेयर राजेशमान सिंहको नयाँ नेतृत्वले आर्थिक भारको कारण देखाउँदै पूर्व मेयर विजय सराबगीले गरेका करिब २ सय कर्मचारीको नियुक्ति खारेज गरेको थियो । तर संघीय र प्रादेशिक चुनाव अगावै रातारात महानगरपालिकाले करिब तिन सय भन्दा बढी कर्मचारीहरुको नियुक्ति ६०/४० को भागबन्डामा मेयर र उपमेयरका मान्छेहरुको ठाडो नियुक्ति गरिएको थिए । जसलाई लिएर महानगरपालिकाको बोर्ड बैठकमा सदस्यहरुले व्यापक बिरोध गरेका थिए ।

महानगरपालिकाको आवश्यकता र औचित्य भन्दा पनि गैरकानूनी रुपमा अख्तियारको दुरुपयोग गर्दै कर्मचारी भर्ना गरेका कारण आन्तरिक राजश्वबाट बार्षिक १८ करोड खर्च भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा उजुरी परेको थियो । विभिन्न सञ्चार माध्यमहरुमा समेत महानगरपालिकाले कार्यकर्ता बहाली केन्द्र बनाएको समाचारहरु प्रकाशित भएपछि तजबिजि नियुक्तिलाई लुकाउन प्रमुख प्रशासकीय अधिकृत पौडेलले कर्मचारीहरुलाई विभिन्न वडाहरुमा डोर समेत खटाएका थिए ।

महानगरपालिकाको सूचनाबाट नगरप्रहरी, दमकल, सरसफाई, वडा कार्यालय, स्वास्थ्य चौकी, महाशाखा, शाखा, उपशाखा समेत विभिन्न पदमा कार्यरत ४ सय ५० जना कर्मचारी सेवाबाट हटाइएको महानगर स्रोतले जनाएको छ । दैनिक ज्यालादारी र डोर हाजिरी कर्मचारीमा मात्र मासिक १ करोड ५० लाख तलवमा खर्च हुने गरेको महानगरपालिकाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News