अपडेट 
२०८० भाद्र ३०, शनिबार ०९:०१

रौतहटमा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फतुवा विजयपुर नगरपालिका–१ घुसुकपुरका जयनारायण यादवका अन्दाजी ३० वर्षीय छोरा उमेश यादव रहेका छन् ।

शुक्रवार फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तिया चोकमा ना ५ ख ३४५१ नम्बरको मालबाहक ट्रकले किचेर ना ५१ प ४९४१ नम्बरको पल्सर मोटरसाइकलमा सवार यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ ।

प्रहरीका अनुसार मौलापुरबाट विजयपुरतर्फ जाँदै गरेको उक्त ट्रकले विपरीत दिशाबाट आउँदै गरेको यादव सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट यादव गम्भीर घाइते भएका थिए । ट्रकको ठक्करबाट यादवको टाउको क्षतविक्षत भएको छ भने मोटरसाइकल पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

बाराको निजगढ नगरपालिका–६ घर भएका ट्रक चालक मुकुन्द पोखरेलले गाडी ब्याक गरेर किच्दा मोटरसाइकल चालक यादवको ज्यान गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यादवलाई किचेर भाग्दै गरेको अवस्थामा स्थानीयहरुले समातेर चालक पोखरेललाई कुटपिट गरेका थिए । स्थानीयहरुले गरेको कुटपिटबाट चालक घाइते भएका छन् ।

चालक पोखरेललाई इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट गएको टोलीले सुरक्षा दिन खोज्दा आक्रोशित स्थानीय र प्रहरीबीच केहीबेर झडप भएको थियो । जानीजानी मान्छे मार्ने चालकलाई प्रहरीले सुरक्षा दिएको भन्दै पीडितका आफन्त र स्थानीयहरुले इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाको कार्यालयमा ढुंगामुढा गर्दै कार्यालयको झ्यालको सिसाहरु समेत फुटाइदिएका छन् ।

झडपलाई नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायर गर्नुपरेको इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजय कार्कीले बताए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहतले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News