अपडेट 
२०८० आश्विन १, सोमबार ०७:२०

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विगतका आन्दोलनमा प्राप्त भएका उपलब्धिको संरक्षण र बाँकी रहेका अधिकार प्राप्तिको लागि आन्दोलनको आवश्यकता रहेको बताएका छन् ।

पार्टीका मधेश प्रदेश समितिले आइतबार जनकपुरधाममा आयोजना गरेको संगठन विस्तार अभियानको उद्घाटन गर्दै अध्यक्ष यादवले मधेश विद्रोहबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्न तथा राज्यको हरेक निकायमा समावेशी पहुँचको लागि आन्दोलनको आवश्यकता रहेकोले त्यसको लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

मधेशी जनतालाई खस पहाडी शासक अझै विदेशीको नजरले हेर्ने गरेको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘ संविधानमा समावेशी र समानुपातिकको कुरा उल्लेख गरिए पनि व्यवहारमा देखिएको छैन । अझै पनि संवैधानिक निकाय, प्रहरी प्रशासन लगायतका निकाय समावेशी छैन ।’ मुलुकमा मधेशको जनसंख्या ५३ प्रतिशत रहे पनि मधेशले मात्र १३ प्रतिशत बजेट पाउने गरेको अध्यक्ष यादवले बताए । मधेशको विकास बिना मुलुकको विकास सम्भव छैन, अध्यक्ष यादवले भने,‘ तर मधेशको विकासमा लगानी नै हुँदैन त विकास कसरी हुन्छ ?’
मधेशी समाजमा पनि जातिवादीसहितका विकृति र विसंगति विरुद्धको हाम्रो लडाइ बाँकी नै रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘ राजनीतिक लडाइ लडिरहेका छौ । तर सामाजिक लडाइ लडन बाँकी नै छ । समता मुलक समाज निर्माणका लागि सामाजिक लडाइ लड्नुपर्छ ।’
कार्यक्रममा पूर्वमन्त्री राजकिशोर यादवले अब जसपाले नेपाल सरकारको नेतृत्व गर्न पाउने गरी अगाडि बढ्नुपर्ने बताए । पार्टी भित्र रहेका अन्तर कलहहरुलाई नेतृत्वले नजर अन्दाज गर्न नमिल्ने उल्लेख गर्दै नेता यादवले पार्टीलाई संगठित बनाएर अगाडि बढाउन नेतृत्वको दायित्व रहेको बताए ।

‘पार्टी भित्रका सबै प्रकारको अन्तरद्वन्दलाई सम्बोधन गर्नु पर्दछ’ उनले भने, पार्टीको विवादलाई थाँती राखेर अथवा समानान्तर बनाएर संगठन बलियो हुन सक्दैन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सरकारले भ्रष्टाचार मुक्त प्रदेश बनाउन ठोस कदमहरु चालेको बताए ।‘प्रदेश सरकारका कामहरुलाई पार्टीले जनता माझ लिएर जानु पर्छ’ उनले भने, संगठनको कार्यक्रमहरुमा सरकारको सकारात्मक पक्षलाई समेत जानकारी दिनु पर्छ ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले विगतमा मधेश प्रदेशले गरेको राम्रा कामलाई लिएर जनताको बीच जानुपर्ने बताए । मधेश प्रदेश सरकारले मात्रै महिलालाई ५० प्रतिशत आरक्षण र प्रत्येक समुदायलाई त्यसको जनसंख्याको आधारमा आरक्षण दिने ऐन ल्याएको मुख्यमन्त्री राउतले बताए ।

पार्टीका मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरुले पार्टी भित्रका विषयहरुलाई पनि उठाएका थिए ।
मधेश प्रदेशको सबै जिल्लामा जसपा भित्र विवाद चुलिएको छ । प्रदेशका केन्द्रीय सदस्य, केन्द्रीय परिषद, प्रदेश सदस्य, प्रदेश परिषद, जिल्ला लगायतका नेताहरुलाई अनिवार्य रुपमा उपस्थित हुन भनिएको थियो ।

तर मधेश प्रदेश कार्यकारिणी समितिका केही सदस्य, कयौं केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु अनुपस्थित भएर असन्तुष्टि जनाएका छन् ।
मधेश प्रदेशको राजधानी रहेको धनुषा जिल्लामै जसपाभित्र चरम विवाद छ । एक अर्का गुटबीच बोलचाल समेत बन्द रहेको छ । जिल्ला दुई खेमामा विभाजित छन् ।

तर अभियानको शुभारम्भले नेता, कार्यकर्ताहरुमा उर्जा थपिएको केन्द्रीय सदस्य रामगोविन्द यादवले बताए ।‘गतिशिल पार्टीमा आन्तरिक कलह अस्वभाविक होइन्’ उनले भने, तर जसपाले मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन निरन्तर लडिरहने छ ।

Comment


Related News

Latest News

Trending News