अपडेट 
२०८० आश्विन २, मंगलवार ११:३२

मिथिलाञ्चलको प्रसिद्ध पर्व चौरचन सोमबार सम्पन्न भएको छ ।

हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो मनाइने गरिन्छ । सोमबार जनकपुरधामसहित मिथिलाञ्चलवासीले चौरचन धुमधामका साथ मनाएका छन् । यस पर्वमा महिला दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । साँझ सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्ज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नसहित चन्द्रमाको पूजाअर्चना गरी पर्व समापन गर्ने परम्परा रहेको छ ।

खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाइ, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । त्यसक्रममा नयाँ माटोका भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी–देवतालाई चढाइने गरिन्छ । दिनभरि निराहार व्रत वा उपासना बसेका महिलाले साँझपख चन्द्रमा उदय हुनु अगाडि दिनमा बनाइएका पूजा र अन्य सामग्री आँगनमा अरिपन बनाई माटोका भाँडामा सजाएर राख्दछन् । चन्द्रमा उदय भएपछि बर्तालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्ने र त्यसपछि परिवारका अन्य सदस्यले पनि त्यसैगरी दर्शन गर्ने प्रचलन छ । प्रसादका रूपमा बर्तालुहरूका घर–घरमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर बनाउने चलन छ ।

चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौरचन पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काक्रा, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा रहेको छ । पछिल्लो समय चाडपर्व मनाउँदा तडकभडक र देखासिकी गर्ने चलन बढिरहेको छ । तर यस पर्वमा आफ्नो घरमा उपलब्ध सामग्री र माटाको प्रयोग हुने हुँदा यस पर्वलाई लोकपर्व भन्ने गरिन्छ । चौरचन पर्वको आयोजना भाद्रशुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइने र यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलङ्क (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात् खाद्यान्न, फलफूल, दही आदिको अघ्र्य दिएर चन्द्र–दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिने जनविश्वास रहेको छ ।

मिथिलाञ्चल क्षेत्रमा मनाउने चौरचनबारे विभिन्न प्रसङ्ग, कथा र मान्यता रहेका छन् । श्रीकृष्णलाई आजैका दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङ्क छुटेकाले यस पर्वको पौराणिक एवं आध्यात्मिक महत्व पनि छ । मणिको प्रसङ्ग एउटा गरिब नागरिकले सूर्यको उपासना गरी प्राप्त मणिको प्रयोगबाट धनी बनेको र त्यो राजाले मन पराएको तर ती नागरिकले दिन नचाहेपछि श्रीकृष्णले गर्नुपरेको सङ्घर्षसँग जोडिएको छ ।

Comment


Related News

Latest News

Trending News