अपडेट 
२०८० आश्विन ३, बुधबार ०८:३१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादव र धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मण्डलले नक्कली नियुक्तिपत्र बनाएर यादवलाई विद्यालयमा पदस्थापन गरेको पुष्टि भएको जनाउँदै अख्तियारले मंगलबार उनीहरूविरुद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा यादवले भानु उच्च माध्यामिक विद्यालयको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाइ सोही नक्कली नियुक्तिपत्रको आधारमा राम जानकी प्राथमिक विद्यालय, कटरैतमा पदस्थापना भइ सुविधा लिएको अख्तियारले जनाएको छ ।

साबिक जिल्ला शिक्षा कार्यालय धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले यादवको शिक्षक पदको नक्कली नियुक्तिपत्र बनाउन सघाएको अख्तियारको भनाइ छ । नियुक्ति नै नभएको र अभिलेखीकरण नै नभएकी यादवलाई स्थायी शिक्षकको पदस्थापना गर्ने क्रममा कनिष्ठताको आधारमा भानु उच्च माध्यमिक विद्यालयबाट विस्थापित गर्ने एवं लगत्तै राम जानकी प्राथमिक विद्यालयमा पदस्थापना गर्ने कार्य मण्डलले गरेको ठहर अख्तियारको छ ।

त्यस्तै, नापी कार्यालय लाहानमा कार्यरत अमिन (करार) दीपरन्जन यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अवस्थामा यादवलाई गत भदौ ६ गते नियन्त्रणमा लिएको थियो । सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले यादवलाई नियन्त्रणमा लिएको थियो ।

अख्तियारका प्रवक्ता भोला दाहालले यादवले सेवाग्राहीसँग घुस लिइ भ्रष्टाचार निवारण एने अन्तर्गत कसुर गरेको पुष्टि भएको जानकारी दिए । उनका अनुसार बिगो १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को देहाय (क) बमोजिम कैद सजाय गरी सोही एनेको दफा ३ को उपदफा १ अनुसार बिगो बमोजिम जरिवानाको सजाय हुन मागदाबी लिइ मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News