
छपकैयामा असोज २ गते एक युवकको शव फेला परेको थियो । दुई दिनसम्म प्रहरीले वेवारिसे बताउँदै आए पनि मृत्युको वास्तविकता खुलेपछि प्रहरी नै दोषी देखिएको छ । वीरगञ्ज छपकैयाबाट शव फेला परेको अरबिन्द कुमार सर्राफको मृत्यु घटनामा नयाँ ‘ ट्विस्ट’ आएको छ । सर्राफको मृत्यु हुनु भन्दा पहिला साथीहरुसंग विवाद परेको थियो । जसबारे नजिकै रहेको छपकैया ‘बीट’लाई जानकारी थियो । तर समयमै प्रहरीको सक्रियता नदेखिएकोले उनको मृत्यु भएको आफन्तजनको आरोप छ । मृतक सर्राफ कलैया बारा जिल्ला कलैया निवासी हुन् ।
असोज एक गते घरबाट वीरगञ्ज आएको सर्राफ दिनभरि विभिन्न कामहरु गरी उनी साथीसंग कतै लागूऔषध सेवन गर्न गए । साँझ वीरगञ्ज छपकैयाकै लागूऔषध सवेन कर्ता ‘मौलबी’ नामले चिनिने साथीसंग उनको विवाद भएको थियो । ‘मौलबी’ र मृतक सर्राफकोबीच राति करिब ११ बजेतिर पर्सलाई लिएर बढेको विवाद प्रहरी बिटसम्म पुगेको थियो ।
मौलबीको पर्सलाई नसाको झोकमा सर्राफले दाबी गरेको कुराको वास्तविकता बुझी छपकैया बिटका प्रहरीले मौलबीलाई जिम्मा लगाएको थियो । प्रहरीले समय र युवकहरुको अवस्थालाई गम्भीरतापूर्वक नलिएका कारण सर्राफको मृत्यु भएको आफन्तजनको आरोप छ । पारिवारिक सूचनाका अनुसार छपकैया प्रहरी बिटमा विवाद चलिरहँदा मृतक सर्राफ पुरै अचेत अवस्थामा थिए ।
प्रहरीकै अगाडि अचेत अवस्थामा रहेकाबेला दुबैबीचको विवाद सल्टाएर मान्छेलाई किन छाडियो ? आफन्तजनको प्रश्न छ, आफ्नो नियन्त्रणमा किन लिएनन् अथवा घर परिवारका व्यक्तिलाई किन जिम्मा लगाइएन ? जसले गर्दा प्रहरीको गम्भीर लापरबाहीका कारण उनको मृत्यु भएको आरोप परिवारजनको छ । अनि अचेत अवस्थामा रहेका सर्राफको मृत्युको कारण हत्या पनि हुन सक्छ ? तर त्यसको अनुसन्धान प्रहरी बिटबाट हुने हो कि मौलबी भन्ने त्यो युवकबाट ?
झगडाको वास्तविकता “बीट”ले किन लुकायो ?
राति झगडा मिलाएको व्यक्तिलाई नै बिहान प्रहरीले वेवारिसे किन भन्यो ? यो प्रश्नले घटनालाई झन गम्भिर बनाएको छ । मृतक सर्राफको पहिचानबारे हिजोसम्म पर्सा प्रहरी बेखबर थियो ।
कारण–उनीसंगै परिचय खुल्ने कागजात थिएन, जसकारण प्रहरीलाई तनाव थियो । तनाव कम गर्न प्रहरीले शव पहिचान नभएको भन्दै सूचना पनि जारी ग¥यो । तर त्यति हुँदासम्म पनि छपकैया प्रहरी बीट मौन किन थियो ? जुन सूचनाले फाइदा मात्रै भएन, पहिचान सहित धेरै कुरा खोलि दियो । घटनाबारे अहिले अनुसन्धान भइरहेको र पोष्टमार्टम रिर्पोट आएपछि घटनाको वास्तविकता खुल्ने पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए । उनले बाटोको झगडा सल्टाउने कार्य मात्र प्रहरीले गरेको बताउँदै भने, कुनै पनि व्यक्तिलाई हिरासतमा राख्न वा थुनछेक गर्दा पक्राउ पुर्जी चाहिन्छ ,बाटोको झगडा त्यहि मिलाए पछि दुबै जना त्यहाँबाट छुटिएर हिँडेकोले प्रहरीको के लाग्छ र ?