अपडेट 
२०८० आश्विन ७, आईतवार १५:४९

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायतका मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटनाप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले विभिन्न जिल्लामा भएको साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको बताएका हुन् ।

बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकमा त्यसमा आँच पुर्‍याउने काम भइरहको भन्दै उनले यस विषयमा सरकारले आवश्यक निर्णय गर्ने जानकारी दिए । उनले धार्मिक संगठनको बैठक बोलाएर संयुक्त वक्तव्य समेत निकालेको भन्दै वैचारिक र राजनीतिक वातावरण बनाएर समस्याका समाधान गर्न पनि सरकार प्रतिवद्ध रहेको बताए ।

त्यस्तै, उनले सुन तस्करी लगायतका भ्रष्टाचार प्रकरणको गहिराईमा पुगेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे । गृहमन्त्री श्रेष्ठले असम्बन्धित विषयमा पनि समितिमा आफुलाई बोलाइएको भन्दै आक्रोश व्यक्त गरे ।

त्यसअघि बैठकमा समिति सदस्यहरुले साम्प्रदायिक घटना, शान्ति सुरक्षाका साथै विभिन्न प्रकरणको अनुसन्धानका विषयमा सरकारको ध्यनाकर्षण गराएका थिए ।

बैठकमा समिति सदस्य रवि लामिछानले साम्प्रदायिक घटना गराएर शान्ति सुरक्षा खलबलाउने षडयन्त्र भइरहेको बताए । उनले सुन तस्करी प्रकरणमा राज्यको अनुसन्धान अलमलिएको आभाष भएको बताए ।

त्यस्तै समिति सदस्य रघुजी पन्तले सर्लाहीको मलंगवामा भएको धार्मिक दङ्गा लगातार हुँदा पनि प्रशासनले यसलाई रोक्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै उनले प्रधानमन्त्रीको दबाबमा सेनाका सहायक रथि यमबहादुर अधिकारीको पदावधि थप गरिएको भन्दै आपत्ति जनाए ।

Comment


Related News

Latest News

Trending News