अपडेट 
२०८० आश्विन ८, सोमबार ०६:१३

जनकपुरधाम उपमहानगरपालिकाले गर्न लागेको नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुन राष्ट्रपति रामचन्द पौडेल सोमबार जनकपुरधाम आउने भएका छन् ।

राष्ट्रपति पौडेल सोमबार विहान ८ वजे नेपाली सेनाको विशेष विमानले आउने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेल जनकपुर विमानस्थलमा आवतरण पश्चात सिधै जानकी मन्दिरमा पूजापाठ गर्ने जनाइएको छ ।

पूजापाठ पश्चात मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको निवासमा चियापान तथा नास्ता गर्ने कार्यक्रम रहेको छ । त्यहाँवाट नेपाल राष्ट्र बैंकको गेष्ट हाउसमा विश्राम गर्ने बताइएको छ । त्यसपछि डेढ बजे जनकपुरधाम उपमहानगरपालिकाले महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेल सहभागी हुनेछन ।

यस अघि राष्ट्रपति पौडेल २३ वर्षसम्म उद्घाटन हुन नसकेको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उपमहानगरपालका मेयर मनोज कुमार साहका अनुसार राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन गर्ने कार्यक्रमको तयारी पूरा भएको छ ।

जनकपुरधाम उप–महानगरपालिकाले राष्ट्रपति पौडेललाई दिने नागरिक अभिनन्दन पत्र मैथिली भाषामा तयार गरिएको नगर प्रमुख साहले बताए । हुन त यस भन्दा पहिला हुने नागरिक अभिनन्दनहरुमा कम्तीमा दुई भाषा प्रयोग गरिन्थ्यो तर, यस पटक भने एक भाषा मात्रै प्रयोग गरिएको छ ।

मेयर साहले नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन १ हजार भन्दा बढी पास वितरण गरिएको र १ हजार ५ सय कुर्सी व्यवस्थापन गरिएको बताए । मिथिला संस्कृति भवनमा हुने कार्यक्रम बाहिर सर्वसाधारणलाई हेर्न एलइडीको समेत व्यवस्थापन गरिएको उनले बताए । उनले राष्ट्रपति पौडेललाई टोकन अफ लभ समेत दिने तयारी गरिएको बताए ।

यता, राष्ट्रपति पौडेल जनकपुरधाम आउने भएपछि सुरक्षा निकायले जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाएको छ । राष्ट्रपति पौडेल सोमवार नै काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ । नागरिकता सम्बन्धी ऐनलाई प्रमाणीकरण गरी वर्षोदेखि नागरिकताविहीन रहेका जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने कानुनी व्यवस्था भएपछि उपमहानगरपालिका सहित यहाँका राजनीतिक दलको सर्वदलीय र सर्वपक्षीय बैठकले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गर्ने निर्णय गत असारमै गरेको थियो । तर मौसम प्रतिकूल हुँदा तत्काल कार्यक्रम स्थगित गरिएको थियो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ७ करोड २४ लाख ६८ हजार ८८९ को लागतमा ‘महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र भवन’को निर्माण गरेको छ ।

२०६५ अषाढ ३० गते निर्माण कार्य सम्पन्न भइसकेपछि पनि भवन हस्तान्तरणको विषयबारे अझै अन्योलता देखिएको छ । निर्माणपछि ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृति केन्द्र’ स्थानीय तह वा प्रदेश कुन निकायलाईजिम्मा लगाउने बारे अझै टुंगो लाग्न सकेको छैन् । कतिपयले सांस्कृतिक केन्द्रलाई स्थानीय तहको जिम्मा लगाउनुपर्ने तर्क गरेका छन् भने प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने राय पनि आएको छ । हस्तान्तरण गर्ने निकायको टुंगो नलाग्दासम्म तत्कालका लागि संस्कृति केन्द्र सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ धनुषाको मातहत नै रहने भएको छ ।

इकाइ कार्यालयका प्रमुख प्रदीप खनालले ‘महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र’ अहिलेका लागि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय मातहत रहने बताए । जनकपुरधामकै सबैभन्दा ठूलो सभाहलको रूपमा निर्माण गरिएको ‘महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र’ लाई नेपाल प्रहरीले वर्षौंसम्म ‘अनाधिकृत’ रूपमा आफ्नो वासस्थानको रूपमा प्रयोग ग¥यो । सामुने रहेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानहरूले भवनलाई वासस्थानको रूपमा प्रयोग गरे । सुरूमा जिल्ला प्रहरी कार्यालयका जवानमात्र बस्दै आएको त्यो भवनमा पछिल्लो समय प्रदेश प्रहरीलेसमेत डेरा जमाए ।

सरोकारवाला निकायले त्यहाँबाट प्रहरी हटाउन दबाबसमेत दिए । तर, जिल्ला प्रहरी कार्यालयले आफ्नो ब्यारेक बनाइसकेपछि मात्रै त्यहाँबाट प्रहरी हट्यो । प्रहरीले वासस्थानका रूपमा प्रयोग गर्न थालेको कारण पनि भवन निर्माण सम्पन्न गर्न ढिलाइ भएको बताइएको थियो । प्रहरीको वासस्थानबाहेक समय समयमा हुने निर्वाचनको लागि समेत ‘महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र’ को भवनलाई प्रयोग गरिएको थियो । २०७० सालको संविधानसभा निर्वाचन तथा पछिल्लो निर्वाचनमा समेत सो भवन प्रयोगमा ल्याइएको थियो । ‘सभा हलमात्रै नभएर संस्कृति केन्द्रसमेत स्थापना गर्ने कुरा छ । यसलाई कुन निकायको मातहत राख्ने भन्ने टुंगो लागि सकेको छैन । टुंगो नलाग्दासम्म सहरी विकास कार्यालयअन्तर्गत नै रहने भयो,’ खनालले भने,‘गठन आदेश बनाउने कुरा पनि उठेको छ । स्वायत्त निकाय नै बनाएर हस्तान्तरण गर्नुपर्ने रायहरू आएका छन्। चाँडै टुंगो लाग्ला ।’

Comment


Related News

Latest News

Trending News