अपडेट 
२०८० आश्विन ८, सोमबार ०६:१९

मलङ्गवामा बिहीबार राति १० बजेदेखि जारी कर्फ्यु आइतबारबाट थप कडाइका साथ लागु गरिएको छ ।

सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले कर्फ्यु उल्लङ्घन गरेर ढुङ्गामुढा र प्रदर्शनमा उत्रने व्यक्तिलाई पक्राउ गर्न सुरु गरिएको जानकारी दिए । उनका अनुसार कर्फ्यु पालना गराउन तथा आम नागरिकको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले मलङ्गवाका ठाउँ–ठाउँबाट कर्फ्यु उल्लङ्घन गर्नेलाई पक्राउ गरिरहेको छ ।

प्रदर्शन नरोकिएको र शान्ति भङ्ग हुनसक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु आदेशलाई निरन्तरता दिएको जनाएको छ । मलङ्गवामा जिल्लासहित मातहतका विभिन्न युनिट, प्रदेश तथा विभिन्न गणबाट समेत नेपाल प्रहरी र सशस्त्र दुवैको थप मद्दत टोली परिचालन गरिएको छ । आइतबारबाट नेपाली सेनाले समेत गस्ती थालेको जनाइएको छ ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले सामाजिक सञ्जालमा आगजनी, तोडफोडजस्ता अफवाह फैलाइएकाले त्यसपछि नलाग्न अनुरोध गरेका छन् । नागरिक समाज, सञ्चारकर्मी र अन्य अगुवा व्यक्तिले नै सामाजिक सञ्जालमा जथाभावी लेख्दा बाहिर गलत हल्ला फैलिएको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले धार्मिक सद्भाव र शान्ति कायम गर्ने कार्यमा सकारात्मक सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । उनले स्थिति नियन्त्रणमै रहेको र कर्फ्यु हटाएर जनजीवन सामान्य बनाउन आइतबार पनि जिल्ला समन्वय समितिका प्रमुख, नगरप्रमुख, वडा अध्यक्ष लगायत सरोकारवालासँग छलफल गरिएको जानकारी दिए ।

चार दिनदेखिको कर्फ्युका कारण मलङ्गवासीको दैनिक जीवन कष्टकर बनेको छ । अत्यावश्यक काम परेका स्थानीय घरबाहिर निस्कन पाएका छैनन् भने मलङ्गवामा काम परेर जानुपर्नेहरु पनि समस्यामा परेका छन् । हाटबजार ठप्प हुँदा दैनिक उपभोग्य सामग्री किन्न समेत नपाएको स्थानीयको गुनासो छ ।

Comment


Related News

Latest News

Trending News