
ढल निकासको उचित व्यवस्थापन नहुँदा राजविराज नगरपालिका ७ मैथिली टोलका तीन दर्जन परिवार समस्यामा परेका छन् ।
खुला नाला र वर्षाको पानी घर आंगनसम्म जम्मा भएपछि ३६ परिवार समस्यामा परेका छन् । “एकातिर नाला व्यवस्थित गरिएको छैन भने अर्कोतिर ढल निकासको उचित व्यवस्थापन हुनसकेको छैन्, स्थानीय चन्द्रकुमारी साहले भनिन–वर्षासँगै नालाको फोहर पानी घर आंगनसम्म जमेपछि हामी ओहोर दोहोर गर्न मात्र समस्यामा नभइ विभिन्न रोग फैलिन त्रासमा बस्न बाध्य भएका छौं ।” सोही टोलकी सुनिता झाले घर आंगन र आसपासमा नालाको फोहर पानी र वर्षात समेतको पानीले डुबान पर्दा टोल नै दुर्गन्धित बनाउनुका साथै यस टोलका ३६ परिवारलाई आवतजावतमा समस्या उत्पन्न भएको बताइन । “घर भित्र समेत पानी छिरेको छ, निकास नहुँदा वर्षेनि समस्या भोग्दै आएको छु, स्थानीय महेन्द्र साहले भने, –नगरपालिकामा हामीले पटक पटक समस्या समाधानका लागि अनुरोध ग¥यौं तर आश्वासन बाहेक केही पाइएन् ।
वडाअध्यक्ष शुभाषचन्द्र यादवले उक्त समस्याबारे आफूलाई समेत जानकारी रहेको बताउँदै वडा कार्यालयको बजेटबाट व्यवस्थित नाला निर्माण र ढल निकासलगायतको व्यवस्थापन कार्य गर्न कठिन भएको बताए । उनले उक्त समस्या समाधानका लागि आफूले पनि नगरपालिकामा पहल गरिरहेको जनाए ।
अव्यवस्थ्ति नाला र वर्षाको पानीले टोल जलमग्न भएको जानकारी पाएपछि सोमबार प्रदेशसभा सदस्य किरणकुमारी साह सो टोलमा पुगेर स्थलगत निरीक्षण गरेकी छन । सो क्रममा उनले ढल निकासका लागि व्यवस्थित गुरुयोजना निर्माण आवश्यक रहेको र यसका लागि आफूले पनि पहल गर्ने आश्वासन दिइन् । समयमै सम्बन्धित निकायले ध्यान नदिँदा विशेष गरी वर्षायाममा यस बस्तीका बासिन्दा मारमा पर्ने गरेको भन्दै उनले उक्त समस्या समाधानका लागि आफूले नगरपालिकादेखि प्रदेश सभासम्म पहल गर्ने बताइन ।