अपडेट 
२०८० आश्विन १२, शुक्रबार ०७:०९

जनता समाजवादी पार्टी( जसपा) पर्साको गुटबन्दी उत्कर्षमा पुगेको छ । पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव र जसपाका संघीय सचेतक प्रदीप यादवबीचको गुटबन्दीले पार्टीमा भाडभैलो भएको छ ।

सांसद प्रदीप यादवले जिल्ला अध्यक्ष रामनरेश यादवको विरुद्ध सिंहासन साह तेलीलाई समानान्तर अध्यक्ष बनाएका छन् । जिल्ला कार्यसमितिको बैठकबाट तेलीलाई बहुमतले अध्यक्ष बनाइएको दाबी गरिएको छ । तर यादवले आफू अध्यक्ष नै रहेको दाबी गरेका छन् । जिल्ला कमिटीको बहुमत सदस्यहरुको बैठकले यादवलाई अध्यक्षबाट हटाएर तेलीलाई अध्यक्ष चयन गरिएको बताइएको छ ।

सांसद यादव र अध्यक्ष रामनरेश यादवबीच गत आमनिर्वाचनदेखि विवाद चलेको हो । अध्यक्षबाट यादवलाई हटाएर समानान्तर जिल्ला कमिटी गठन भएको सांसद यादव समूहले दाबी गरिरहेको छ । दुई चिरा भएको पर्सा जसपामा अध्यक्ष यादवलाई पूर्व मुख्यमन्त्री लालबाबु राउतले सहयोग गरिरहेका छन् । जिल्ला अध्यक्ष यादव लगायतका नेताहरु राउतसितको समूहमा छन् । सांसद प्रदीप यादवलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतले सघाइरहेका छन् ।

सांसद प्रदीप यादव जिल्ला अध्यक्ष हुँदा पार्टी कारबाहीमा परेपछि रामनरेश यादवलाई अध्यक्ष बनाइएको थियो । बुधबार वीरगन्जको अनमोल पार्टी प्यालेशमा सांसद यादवको प्रमुख आतिथ्यमा आयोजित विरोधी खेमाको भेलाले सिंघासन साह तेलीको अध्यक्षतामा जसपाको समानान्तर जिल्ला कार्यसमित घोषणा गरेको थियो । तेली, बहुदरमाई नगरपालिकाका मेयर पनि हुन् । उक्त जिल्ला कार्यसमितिको उपाध्यक्षमा ग्यासुदिन मियाँ, अजय चौरसिया र मिथिलेश सिंह, सचिवमा उमेशलाल सहनी, सहसचिवमा सुशील साह कानु, सुनिल कुशवाहा र नुर आलम अन्सारी, कोषाध्यक्षमा प्रेमकुमारी सिंह रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा असलम आलम, अजय सर्राफ, बैजुलाल स्वर्णकार, नेक महम्मद अन्सारी , सुनिता शर्मा, सुरज मानन्धर ,खैरुदिन मियाँ र प्रतिमा सिंह रहेका छन् । मधेश प्रदेशका जसपा प्रमुख सचिव दिनेश यादवले रामनरेश यादव नै अध्यक्ष रहेको बताउँदै समानान्तर कमिटी गठन भएको सम्बन्धमा छानबिन सुरु भएको बताएका छन् ।‘पर्सा जिल्लाका अध्यक्ष अहिले रामनरेश यादव नै हुन्’ उनले भने, समानान्तर कमिटी गठन भएको विषयमा प्रदेश समितिले छानबिन सुरु गरिसकेको छ ।

जसपाका प्रमुख सचेतक एंव सांसद प्रदीप यादवले रामनरेश यादव अध्यक्ष रहेको जिल्ला तदर्थ समितिको वैधानिकता सकिएपछि बुधबार नेता कार्यकर्ताको भेलाबाट तेलीको अध्यक्षतामा जसपाको जिल्ला कार्यसमिति पुनर्गठन गरिएको बताएका छन् । ‘यादवको अध्यक्षतामा बनाइएको तदर्थ समितिको वैधानिकता बढीमा ६ महिनामात्रै थियो’ उनले भने, तर एक वर्ष बित्दासमेत अधिवेशन गराउन नसकेकोले नयाँ जिल्ला समिति गठन गरिएको हो । ‘यो समानान्तर जिल्ला समिति होइन ’ उनले भने, यहि नै वैधानिक जिल्ला कार्यसमिति हो ।

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले बुधबार गठन भएको समितिलाई चुनावमा अन्तर्घात गर्नेहरुको क्लब गठन भएको बताएका छन । मन्त्री नपाएपछि आफ्नै केन्द्रीय अध्यक्षको विरोधमा पार्टी घेराउ गराउने र भाडभैलो मचाउने सांसद यादवको पुरानो चरित्र भएको जिल्ला अध्यक्ष यादवले आरोप लगाएका छन् । प्रदेश र संघको चुनावमा पार्टीका उम्मेदवारहरुलाई हराउने सबै एक थलोमा उभेर क्लब बनाएको र त्यसले संगठनलाई खासै फरक नपर्ने उनको दाबी छ ।

जिल्ला अध्यक्ष रामनरेश यादवले भने बुधबार नै अपरान्ह एक विज्ञप्ति जारी गरेर तेलीको अध्यक्षतामा गठित समिति अवैधानिक रहेको बताउँदै आवश्यक कारबाही अगाडि बढाइएको समेत जनाएका छन् । जिल्ला सचिव तबरेज अहमदको समेत हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा पार्टी संगठन भताभुङ्ग पार्ने, अराजक प्रवृति र व्यक्तिवादी चिन्तन भएका, पटक पटक पार्टीको नीतिनियम विरुद्धको कार्य गर्दै आएका व्यक्तिहरुको सोचमा परिवर्तन नदेखिनु पार्टीको लागि आत्मघाती भएको यादवले जनाए ।

कुशवाहा भन्छन् : मैले गुट फेरेको छैन

दुबै खेमाको जिल्ला उपसचिवमा परेका सुनिल कुशवाहाले विहीवार विज्ञप्ति जारी गर्दै आफू संस्थापन तर्फ नै रहेको जनाएका छन ।

सिंघासन साह तेलीको अध्यक्षतामा गठन भएको समितिमा आफूलाई उपसचिवमा राखिएप्रति विरोध जनाउँदै कुशवाहाले रामनरेश यादवको अध्यक्षताको समितिनै वैध भएको र आफू त्यसै समितिको उपसचिव रहेको जनाएका छन ।

Comment


Related News

Latest News

Trending News