
गरुडा नगरपालिका वड़ा नम्बर ६ पोठियाहीबाट हराएकी ९ वर्षीया बालिका अहिलेसम्म फेला परेकी छैन । गएको वैशाख २६ गते आफ्नै घरबाट सम्पर्कविहीन बालिका ४ महिना बितिसक्दा पनि परिवारको सम्पर्कमा आएकी छैन ।
स्थानीय राम प्रवेश महतोको ९ वर्षीया छोरी किरण कुमारी महतो वैशाख २६ गते दिउँसो करिब ३ बजेको समयमा घरबाट गायब भएको र अहिलेसम्म कुनै अतोपतो नलागेको महतोले बताएका छन । गाउँको प्राथमिक विद्यालयको कक्षा ३ मा अध्ययन गरिरहेकी छोरी विद्यालयमा पढन नगएको कारण गाली गरेदेखि उनी घरबाट गायब भएको महतोले बताए ।
महतोले छोरी आमा संग सुतेको र अरु छोरा छोरी बाहिर खेल्दै गरेको अवस्थामा कसैलाई केही नभनी घरबाट बाहिर गएको बताए । दिनभरिमा छोरी घर नफर्किदा सोधपुछ गर्न लागेको सुनाउँदै ५ दिनसम्म आफ्नो नातेदार ,छिमेकी ,आफन्त ,ससुराली घरमा पत्ता लगाउँदा कुनै किसिमको जानकारी नभएपछि खोज तलासका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडामा जेष्ठ ३ गते उजुरी दिएको बताए । बालिकाको बुबा महतोले छोरीको अवस्था बारेमा पत्ता लगाई दिन प्रहरीलाइ गुहार लगाउँदा पनि प्रहरीले खासै सक्रियता नदेखाएको गुनासो समेत पोखेका छन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाका प्रमुख प्रहरी सहायक निरीक्षक फुलमाया चौधरीले घरबाट गायब भएकी बालिकाको विषयमा खोज तलास भइरहेको बताए । रौतहट जिल्लामा साउन र भदौ महिनामा २५ जना बालक तथा बालिका हराएको उजुरी परेको जानकारी दिँदै १५ जना बालक र बालिका सम्पर्कमा आइसकेको र बाँकी १० जनाको खोजतलास गर्ने प्रयास जारी रहेको बताए ।
साउन र भदौ महिनामा हराएको बालक ५ ,बालिका २० , महिला १० र जेष्ठ नागरिक २ गरी ३७ जना रहेको तथ्यांक छ । खोज तलासको क्रममा बालक ४ , बालिका १५ ,महिला ४ गरी २३ जना फेला परेको र बालक १ , बालिका ५ महिला ६ र जेष्ठ नागरिक २ जना अहिलेसम्म फेला नपरेको प्रमुख चौधरीले जानकारी दिएकी छन ।