अपडेट 
२०८० आश्विन १३, शनिबार ०९:५२

गौ हत्याको घटनालाई निरुत्साहित गर्न तथा संवैधानिक व्यवस्थालाई अंगिकार गराउन विश्व हिन्दू परिषद् नेपालद्वारा जनकपुरधाममा विरोध जुलुस प्रदर्शन गरिएको छ ।

शूक्रबार जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास बैष्णवको अध्यक्षतामा जानकी मन्दिरबाट निकालिएको जुलुस जनकपुरधामको विभिन्न भागको परिक्रमा गरी राम चोकमा कोणसभामा परिणत भएको थियो । पटक–पटक हिन्दू धर्मावलम्बीमाथि आक्रमण हुने गरेको र गाईलाई हिन्दूधर्मावलम्बीहरुले आमाको रुपमा लिएकै कारण हत्या गर्ने गरेको भन्दै विभिन्न हिन्दूवादी संघ संस्थाको सहभागितामा विश्व हिन्दू परिषद्ले जनकपुरधाममा विशाल विरोध सभा गरेको थियो ।

कुनै पनि धर्ममाथि आक्षेप आउने क्रियाकलाप संविधान विपरीत रहे पनि यस्ता क्रियाकलाप गर्नेहरुको मनोबल दिन प्रतिदिन बढ्नुमा सरकार मुख्य दोषी रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताए । दिउसो १ बजे जानकी मन्दिरमा पुगेका हिन्दूवादी संघ संस्था र सर्वसाधारण हिन्दूहरु जागरुक भएको वक्ताहरुले बताए । हामीले अन्य धर्मावलम्वीहरुलाई सम्मान गर्ने गरेको तर, आफूहरु र आफ्ना धर्ममाथि पटक पटक प्रहार हुने गरेको भन्दै हिन्दूवादीहरु खवरदारी स्वरुप विरोध जुलुस गरेको उनीहरुले बताए

। जानकी मन्दिरका उत्तराधिकारी महन्त दासले गाई नेपालको राष्ट्रिय जनावरको रुपमा रहेको र गाईलाई हिन्दू धर्मावलम्बीले आमाको रुपमा परापूर्वकाल देखिनै मान्दै आएका कारण केही अतिबादीहरुले हिन्दू सनातन धर्ममाथि प्रहार स्वरुप गौ हत्या गर्ने गरेको उनले आरोप लगाए । मुलुकलाई धर्म निरपेक्ष बनाउनुनै सनातनीहरुमाथिको पहिलो आक्रमण थियो तर, अब हिन्दूहरु जागरुक भइसकेको उनले बताए ।

सामाजिक सञ्जालमै आफूहरुले गाई काटेर खाएको अभिव्यक्ति दिनेलाई सरकारले कारबाही गर्न नसक्नु सनातनीहरुकोलागि दुःखद रहेको उनले धारणा राखेका थिए । कोणसभामा धरानका धर्मगुरु श्रीनिवास आचार्यले गौहत्या विरुद्धको र्यालीमा गाई मार्नेलाई ठाउँको ठाउँ खुकुरी छप्काउने प्रतिक्रिया दिएका छन् । शान्तीपूर्ण र्यालीमा सहभागी हजारौँ साधुसन्त, हिन्दु धर्मावलम्बीहरुको बीचमा उनले मनतव्य राख्दै गाई काट्नेलाई खुकुरीले छप्काईदिनुपर्ने बताए ।

उनले भारतको पँजावमा शीखहरुले तरबार बोक्ने स्वतन्त्रता भएको उदाहरण दिँदै नेपालमा समेत खुकुरी बोक्ने स्वतन्त्रता रहेकोले गाई काटनेलाई खुकुरीले छप्काईदिनुपर्ने धारणा राखेका छन् ।

Comment


Related News

Latest News

Trending News