अपडेट 
२०८० आश्विन १४, आईतवार ०७:३०

नेकपा एमाले मधेश प्रदेशको अधिवेशनका लागि शनिबार प्रतिनिधिहरुको मनोनयन दर्ता गरिएको छ । प्रदेशका ८ जिल्लाबाट बढीमा १ हजार जनासम्म प्रतिनिधि छनोट हुने बताइएको छ । पालिका र जनवर्गीय संगठनबाट छनोट हुने प्रतिनिधिका लागि चुनावी प्रकृया अपनाइएको छ । प्रतिनिधिका लागि मनोनयन दर्ता भए पनि अधिकांशमा निर्बिरोध हुने नेताहरुले जनाएका छन् ।

स्रोतहरुका अनुसार प्रतिनिधि छनोटमा नेताहरुले प्रभाव भएको पालिकाहरुमा एकतर्फी गरेका छन् । प्रतिनिधि चयनमा बहुमत हुने पक्षले अध्यक्ष लगायतका पदहरुमा सशक्त दाबेदार हुने सम्भावना छ ।

मधेश प्रदेशका इञ्चार्ज योगेश भट्टराई केही समयदेखि निरन्तर रुपमा अधिवेशनको तयारीमा जुटेका छन् । उनले प्रदेश अधिवेशनबाट आउने नेतृत्वले मधेश प्रदेशमा संगठनलाई सबल बनाउने बताउँदै आएका छन् । असोज २४ र २५ गते मधेश प्रदेशको अधिवेशन हुनेछ । २४ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेश अधिवेशनमा ९ सयदेखि १ हजारको हाराहारीमा प्रतिनिधि छनोट हुने एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्व मन्त्री सरोज यादवले बताए । ‘प्रतिनिधिका लागि पुरुषको हकमा ७ वर्ष र महिला, दलित, अपांगता भएकाहरुको हकमा ५ वर्ष संगठनमा अनिवार्य रुपले काम गरेको हुनुपर्नेछ ’उनले भने, आठवटै जिल्लाबाट प्रतिनिधि छनोटको काम सम्पन्न भएपछि संख्या यकिन हुनेछ ।

सोमबारसम्म सबै जिल्लाको नतिजा आउने बताइएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ को ४ वटै पालिकामा सर्वसम्मतिबाट प्रतिनिधि चयन भएको जनाइएको छ । मधेश प्रदेशमा सतहमा प्रमुख रुपमा दुई गुट देखिएको छ ।

रघुबीर महासेठ गुटको नेतृत्व सांसद समेत रहेकी जुली महासेठले गरिरहेकी छन् । अर्को पक्षको नेतृत्व सुमन प्याकुरेलले गरिरहेका छन् । प्रदेशमा प्याकुरेल समूहको स्थिति बलियो रहेको बताइन्छ । नेता महासेठ निकट मानिने पुरषोत्तम पौडेल पनि अध्यक्षका आकांक्षी रहेका छन् । हाल उनी प्रदेशको उपाध्यक्ष रहेका छन् ।

एमालेको बागमती, कर्णाली, लुम्बिनी प्रदेशमा चुनावी प्रकृयाबाट नै अध्यक्ष चयन भएका छन् । पार्टी अध्यक्ष ओलीले चुनावी प्रक्रिया रोकेर सर्वसम्मतबाट नेतृत्व चयनका लागि प्रयास गरे पनि लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको गुटबन्दीले चुनाव भएपछि अन्य प्रदेशमा पनि नेतृत्व चयनका लागि चुनाव नै हुन थालेको छ । कोशी प्रदेशमा पनि अध्यक्षका लागि चुनाव नै हुने भएको छ । मधेश प्रदेशमा प्रतिनिधि छनोटको प्रक्रिया जारी रहेकाले अध्यक्षका उम्मेदवारहरु सार्वजनिक रुपमा घोषणा गरेका छैनन् । उच्च स्रोतहरुका अनुसार शनिबार राति अथवा आइतवार बिहान केन्द्रीय नेतृत्वबाट लाइन आएपछि उम्मेदवारहरुको घोषणा हुनेछ ।

अध्यक्षका आकांक्षीहरु

एमाले मधेश प्रदेशमा सर्वसम्मति हुने दाबी नेताहरुले गरिरहे पनि अध्यक्षमा आधा दर्जनको हाराहारीमा आकांक्षी रहेका छन् ।

स्रोतहरुका अनुसार सुमन प्याकुरेल अध्यक्ष पदका लागि प्रबल दाबेदार मानिएका छन् । उनको नाममा सर्वसम्मती नभए प्रदेशमा चुनाव निश्चित रहेको बताइन्छ । उनलाई चुनौती दिनेमा पुरषोत्तम पौडेल प्रमुख छन् । पौडेलले प्याकुरेललाई नछाड्ने बताइन्छ । रेवती पन्त पनि अध्यक्ष पदका आकांक्षी रहेका छन् । उनी पनि ‘केन्द्रीय लाइन’ कुरिरहेका छन् । अहिले कुनै नेतालाई लाइन नआएको बताइन्छ । मधेश प्रदेशमा मधेशी नेतृत्वलाई अगाडि बढाउनु पर्ने दवाव नेतृत्वमाथि बढेको छ ।

मधेशीलाई जिम्मेवारी नदिए विपक्षी दलहरुले त्यसलाई मुद्दा बनाउन सक्ने बताउँदै नेताहरुले केन्द्रीय नेतामाथि मधेशको भावनालाई सम्मान गर्न दवाव बढाइएको छ । पूर्व संघीय राज्यमन्त्री एवं कानुन व्यवसायी रामसिंह यादव प्रदेश अध्यक्षका बलियो दाबेदार मानिन्छन । एमाले मधेश विरोधी रहेको आरोप लाग्दै गरेको बेला केन्द्रीय नेतृत्वले यादवलाई अगाडि सार्ने बताइन्छ ।

धनुषा जिल्लाका एमाले अध्यक्ष रहेका राजकिसोर यादव पनि अध्यक्षको आकांक्षी रहेका छन् । उनी लामो समयदेखि धनुषा जिल्ला अध्यक्षको रुपमा पार्टीलाई सञ्चालन गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News