अपडेट 
२०८० आश्विन १४, आईतवार ०७:४०

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेकाले उद्योगी–व्यवसायीलाई निराश नहुन आग्रह गरेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६ औँ वार्षिक साधारणसभामा अर्थमन्त्री डा. महतले भूकम्प, कोरोना महामारी र अन्तर्राष्ट्रिय रूपमा भएको आर्थिक मन्दीका कारण नेपाली अर्थतन्त्रमा परेको दबाब सुधारोन्मुख रहेकाले दृढ आत्मविश्वासका साथ लगानी बढाउन आग्रह गरे । “भूकम्प, कोरोना महामारी, अन्तर्राष्ट्रिय रूपमा भइरहेको आर्थिक र द्वन्द्वको असर नेपालले पनि भोग्यो ।

अर्थतन्त्रमा दबाब अवश्य थियो तर पछिल्लो समय त्यसमा सुधार हुँदैछ । विप्रेषण प्रवाह, पर्यटकीय गतिविधिमा बढोत्तरी, बजेट अनुशासन कायम गरी अगाडि बढ्ने सरकारको नीतिका कारण विस्तारै सुधार हुँदैछ”, अर्थमन्त्री डा. महतले भने, “त्यसैले म विश्वासका साथ भन्छु नेपाली अर्थतन्त्र सुधारोन्मुख छ । आर्थिक क्रियाकलाप बढाउन सरकारको मौद्रिक नीति र बजेट अनुशासनले पनि काम गरिरहेको छ । त्यसबाट परिणाम आउन केही समय लागे पनि निराशाको अवस्थालाई आशामा बदल्न सरकार प्रयत्नशील छ । तपाई व्यापारी साथीहरू पनि आत्मविश्वासका साथ काम गर्नुस् ।” उनले देशमा आर्थिक क्रियाकलापमा बढोत्तरी नहुँदा राजस्व सङ्कलनमा समेत असर परेकाले विकासका पूर्वाधारमा पर्याप्त लगानी गर्न कठिनाइ भइरहेको बताए । “नेपालले सामाजिक सुरक्षामा गरेको प्रतिबद्धता, कर्मचारीको तलब तथा चालु खर्चजस्ता अन्य दायित्व पूरा गर्दै जाँदा पुँजीगत दायित्व वा विकासमा पर्याप्त लगानी गर्न सकिरहेको छैन ।

राजस्व वा आम्दानी बढ्न नसकेकाले यस्तो समस्या भएको हो । अब सबै पक्षले सकारात्मक पहल गरेमा यो अवस्थालाई सुधार्न सकिन्छ । त्यसका लागि म सबै सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु”, उनले बताए । मधेस प्रदेशमा कृषि, पर्यटन र उद्योगको विकासमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले सुनकोसी मरिन कमला डाइभर्सनको काम द्रुतगतिमा अगाडि बढाएको र पूर्व–पश्चिम नहर प्रणालीको विकासका लागि उचित ध्यान दिने भन्दै अर्थमन्त्री डा. महतले जलेश्वरलाई अन्तर्राष्ट्रिय नाका बनाउन र जटहीलगायतका नाकाको स्तरोन्नति गर्न सरकारले पहल सुरु गरिसकेको पनि जानकारी दिए ।

प्रदेशको राजधानी जनकपुर क्षेत्रलाई औद्योगिक हबका रूपमा विकास गर्न पनि सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं नेकपा (एमाले) नेतृ जुलीकुमारी महतोले राज्यले उपेक्षा गरेका कारण मधेश प्रदेशमा विकासले गति नलिन सकेको बताइन । नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले सङ्घीयताको मर्मअनुसार विकास निर्माणदेखि अन्य कानुनी जटिलता फुकाउन सङ्घीय सरकारले पहलकदमी लिनुपर्ने बताए ।

त्यसैगरी नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले जनकपुरको विकासका लागि गुठीको जग्गा व्यवस्थापन र मधेशको विकासका लागि कृषि सिँचाइलाई लक्षित गरी पूर्व–पश्चिम नहर प्रणालीको विकासमा सरकारले लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, पूर्वप्रमुख बजरङ्गप्रसाद साह, जनकपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष निर्मलकुमार चौधरी, वर्तमान अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतले जनकपुरधाम र मधेशको विकासका पूर्वाधार विकासमा लगानी र लगानीको वातावरण निर्माण गर्न उद्योगीका समस्या समाधानमा ध्यान दिन सरकारलाई आग्रह गरेका थिए । उनीहरुले महोत्तरीको जलेश्वर भिठ्ठामोड नाकालाई अन्तर्राष्ट्रिय भन्सार नाकाका रूपमा विकास र धनुषाको जटही नाकाको स्तरोन्नति, बैंकबाट सहजरूपमा ऋण लिने अवस्था र सस्तो ब्याजदर, गुठीको जग्गा व्यवस्थापन र जनसंख्याको आधारमा बजेटको न्यायोचित बाँडफाँटमा ध्यान दिन अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

Comment


Related News

Latest News

Trending News