
लोकपर्व जितियालाई धार्मिक अनुष्ठान र सांस्कृतिक पर्वका रुपमा सीमित नराखी विशिष्ट उत्सवका रुपमा मनाउने सन्दर्भमा सखी बहिनपा मैथिलानी समूह जनकपुरधामले गंगासागर गंगाआरती स्थलमा जितियाको संस्कृति झल्काउँदै उत्सव मनाएको छ ।
सो समूहले गत वर्ष जनकपुरधामको नोचापोखरीमा गरेको जितिया उत्सवको मौलिकपनले निकै चर्चा पाएको थियो । मातृत्वप्रतिको सम्मानको प्रतीक मानिएको जितिया पर्वमा आमाको सन्तानप्रतिको ममत्वको प्रदर्शनले सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्न सफलीभूत भएको थियो । महिलावर्गद्वारा गरिने जितिया पर्वमा कुनै शास्त्रीय देवता नभइ लोकदेवता जीमूतवाहनको पूजा गरिन्छ । जितिया व्रत गर्नाले सन्तानको दीर्घायु, आरोग्य रहनुका साथै खासगरी कुनै आकस्मिक खतराबाट रक्षा हुने विश्वास रहेको पाइन्छ ।
जितियालाई जीवितपुत्रिका व्रत वा जीमूतवाहन व्रत पनि भनिन्छ । अत्यन्त नियम निष्ठापूर्वक कठोर उपवासका साथ आमाहरुले जितिया पर्व मनाउने परम्परा रहेको छ । भगवान जीमूतवाहनले सन्तानको रक्षा एवं कल्याण गर्छन भन्ने मान्यताका साथ यो पर्व मनाइन्छ । पर्वले रत्नगर्भी धर्तीमा कर्मका महादेवहरुले श्रम सिंचन गरी फलाएका सबै कुरा प्रसादमय हुन्छन् भन्ने सन्देश र पूजा गरिने वस्तुहरुमा सर्वथा फरक किसिमका सामग्री घिरौंलाको पात, फूल, तोरीको तेल, खरी आदि प्रयोग गरिन्छ ।
प्रकृति र पर्यावरणका विविध पक्षसंग गहिरो साइनोको निरन्तरताको प्रतीक रहेको जितिया पर्वले वनस्पतिक सम्पदाको संरक्षण तथा टेवालाई बल पु¥याइ रहेको छ । नरिवल, कांक्रा , केराउ, केरा, केराको पात, बांसको पात र पान पूजा सामग्रकिा रुपमा प्रयोगले यसको पुष्टि गर्दछ । माटाका स्याल चिल बनाइ पूजाले पनि यसको विशिष्टतालाई उजागर गर्दछ ।
यी वस्तु, सामग्री बारे शास्त्रीय पक्ष उल्लेख नभए पनि स्थान, क्षेत्र, परिवेशका उत्पादन तथा साधनहरुलाई उपयोग गरी समुचित स्थान र सम्मान दिएको पाइन्छ । जितियाको पूजामा आउने यी विविध वनस्पति, जीवजन्तु तथा पोखरी आदिको प्रसंगले इकोसिस्टमप्रतिको सचेतना सदियौदेखि कायम रहेको बोध गराउँछ ।
लोककल्याणका यावत पक्षहरुलाई सांस्कृतिक आवरणमा संरक्षण दिँंदै समाजका हरेक जातिले यो पर्व मनाउने गर्दछन् । जितिया पर्व मातृत्व पक्ष प्रति सम्मान गर्ने सांस्कृतिक परिपाटी हो । आफ्ना दिवंगत सासुका साथै दिवंगत आमा तथा अन्य पूज्य महिलाप्रति श्रद्धास्वरुप पितराइन खुवाउने गरिन्छ । पर्वले मानवीयता, समानता, प्रकृति, पर्यावरण आदिलाई संरक्षण एवं प्रवद्र्धन गर्न गतिलो स्थान प्रदान गरेको छ । जितिया पितृ पक्ष अन्तर्गत पर्दछ । पितृ पक्षमा पुरुषवर्गले आफ्ना दिवंगत पितृहरुलाई पक्षभरि नै तर्पण दिने गर्दछन् ।
महिलावर्गले भने जितिया व्रतमा दिवंगता महिलालाई नैवेद्य अर्पण गर्ने गर्दछन् । सखी बहिनपा समूहद्वारा यही भावभूमिमा गंगासागरको गंगाआरती स्थलमा पर्वका अनुष्ठानका पक्षहरु कलश स्थापना, विधि व्यवहार, कथा वाचन, पारम्परिक गीत, संगीतका नाचगान सहित पर्वको सस्कृति झल्काउँदै गत वर्षझैं यस वर्ष पनि मौलिकता , विशिष्टता र लोकमान्यतालाई जीवन्तता प्रदान गरेको छ ।
उत्सवमा किड्डी बोर्डिंग स्कुल, साउथ प्वाइन्ट बोर्डिंग स्कुल, मिथिला माउन्टेश्वरी स्कुल र नर्वदा बोर्डिंग स्कुलका शिक्षार्थीहरुले मिथिला, सभ्यता, सस्कृतिमूलक नृत्य प्रस्तुत गरी उत्सवमा उत्साह थपेका थिए । नृत्य प्रस्तुत गर्नेहरुलाई उषा चौधरी निर्मला झा, शशिकला, रिता मल्लिक, डा. गायत्री, रुना झा ,प्रेम विनिता, अल्पना मिश्र, बिन्दु ठाकुर, सुनिता मिश्र लगायतले सम्मान गरेकी थिइन ।
ज्येष्ठ सखी सुंनिता मिश्रको अध्यक्षतामा सम्पन्न उत्सवमा पुनम झा मैथिल, बिन्दु ठाकुर, भारती चौधरी, आरती चोधरी, पुनम मिश्रले उत्सवको व्यवस्थापनदेखि सांस्कृतिक विशिष्टतालाई उजागर गर्नेमा उल्लेख्य दायित्व निर्वाह गरेकी थिइन भने कलाकार रुवी पाठकले माटाका चिल र स्याल बनाएकी थिइन । उत्सवमा सोना देवीले जितिया महत्व सम्बन्धी कथा वाचन गरेकी थिइन भने गोसाउनी गीत , वटगबनी र सखी बहिना गीत सामूहिक रुपमा प्रस्तुत गरिएको थियो । यस अधि गंगासागर घाटमा विधि विधानपूर्वक जितियाको पूजनका सामग्रीसहित सांस्कृतिक पक्षलाई भल्काइएको थियो ।