
सप्तरी जिल्लाको राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको यात्रुवाहक दिवासेवाको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिकाको वडा नम्बर ९ मा अवस्थित मारुती सिमेन्ट उद्योग नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २० बस्ने ५० वर्षीय अनिलकुमार झा र सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय राजकुमार सदा रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । गम्भीर घाइते रहेका झा र सदालाई उपचारका लागि अस्पताल लगिने क्रममा मृत्यु भएको बताइएको छ । उनीहरु बसमा कहाँबाट चढेका थिए, त्यो भने खुल्न सकेको छैन् ।
राजविराजवाट जनकपुरतर्फ जाँदै गरेको ना. ४ ख ७१८७ नम्बरको यात्रुवाहक बसको स्प्रिंगपट्टा भाँचिदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । अगाडिको स्प्रिंगपट्टा भाँचिदा बस अनियन्त्रित भइ गोलबजार–९ मा पल्टिएको चालक संजीव सिंह थारुले जनाएका छन् । दिउँसो सवा २ बजे बस दुर्घटना हुँदा त्यसमा सवार अधिकांश यात्रुलाई चोटपटक लागेको छ ।
दुर्घटनामा घाइते भएका २५ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जनाए । बस पल्टिदा चालक हाम फालेर जोगिएका छन् । बसका चालक थारु इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको डीएसपी बस्नेतले बताए ।‘चालक प्रहरी नियन्त्रणमा रहेका छन्’ उनले भने, बसको अगाडिको दाहिने तर्फको स्प्रिंगपट्टा भाँचिएर बस अनियन्त्रित भइ दुर्घटना भएको चालकको वयानबाट बुझिएको छ ।
दुर्घटनाको अन्य कारणहरुबारे पनि अनुसन्धान भइरहेको उनले बताए । घाइतेहरुको गोलबजारस्थित अस्पतालमा उपचार भइरहेको उनले बताए । सामान्य घाइतेहरु उपचारपछि घर फर्किसकेका छन् । केही घाइतेहरु उपचारको क्रममा अझै अस्पतालमा नै रहेका छन् । बस दुर्घटनाको थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जनाए । सिरहादेखि पूर्वको राजमार्ग निर्माणाधीन अवस्थामा रहेको छ ।सडक विस्तारको क्रममा सडकमा खाल्डाखुल्डीहरु रहेकाले सवारी साधनहरुको पार्टपुर्जामा क्षति हुने क्रम बढेको बताइन्छ । नियमित मर्मत संभार र पार्टपुर्जा फेर्ने काम नहुँ्रदा खाल्डाखुल्डीमा परेर दुर्घटना हुने उच्च जोखिम रहेको छ ।