अपडेट 
२०८० आश्विन १५, सोमबार ०७:४७

रौतहटमा निर्माणाधीन विद्यालय भवन प्रयोगमा नआउँदा एक विद्यालयका विद्यार्थीहरु खुला आकाशमुनि पढ्न बाध्य भएका छन् ।

जिल्लाको देवाही गोनाही नगरपालिका–६ का आधार भूत विद्यालय कर्कच गुठ्ठीका बालबालिकाहरु भवनको अभावमा खुला आकाशमुनि भुईमा बसेर पढ्न बाध्य छन् । सो विद्यालयका बालबालिकाका लागि चन्द्रशेखर साह नामका ठेकेदारले दुई महिना अघि निर्माण गरिसकेको दुई तल्ले आठ कोठे भवन अझै नगरपालिका वा विद्यालयलाई हस्तान्तरण गर्न सकेका छैनन् । जसका कारण बस्ने कोठा नपाएर सो विद्यालयका सयौं छात्रछात्राहरु विद्यालयको चौर र ब्रण्डामा बसेर पढ्ने गरेका छन् ।

नगरपालिकाको ७८ लाख रुपैयाँको लागतमा २०८० साल कार्तिक मसान्त भित्रमा निर्माण कार्य पूरा गर्ने समय पाएका ठेकेदार साहले निर्माण कार्य पूरा गर्ने समय भन्दा तीन महिना अगाबै गत असारमा नै विद्यालय भवन निर्माण कार्य पूरा गरेर भुक्तानीका लागि नगरपालिकामा बिल भर्पाई पेश गरेका थिए । तर रकम अपुग भएको भन्दै नगरपालिकाले गएको असारमा भुक्तानी दिन नसक्दा भुक्तानी पाउनुपर्ने माग राख्दै निर्माण कम्पनीका ठेकेदार साहले नव निर्मित विद्यालयको भवन अझै पालिकालाई हस्तान्तरण गरेका छैनन् । निर्माण कार्यका लागि सम्झौता भएका ७८ लाख रुपैयाँ मध्ये ठेकेदारले ५० लाख रुपैयाँ भुक्तानी पाइसकेका छन भने २८ लाख रुपैयाँ भुक्तानी पाउन अझै बाँकी रहेको छ ।

भुक्तानी पाउने माग गर्दै ठेकेदार साहले विद्यालय भवनको आठवटै कोठाहरुमा ताल्चा लगाइदिएका छन् । भुक्तानी नदिएसम्म ताल्चा नखोल्ने साहको अडानका कारण पर्याप्त कोठाको अभावमा विद्यार्थीहरु महिनौ देखि घाम पानी सहेर खुला आकाशमुनि भुईमै बसेर पढ्दै आएका छन् । “खुला आकाशमुनि बसेर पढ् दा स–साना विद्यार्थीहरुलाई घाम र पानीले सताउने गर्छ,” विद्यालयका एक शिक्षकले भने ।

कक्षा कोठामा जस्तो खुला आकाशको पढाइ सहज नभएको उनको भनाइ छ । कक्षा १ देखि ८ सम्म पढाई हुने सो विद्यालयका कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुलाई अर्को भवनमा पढाउँदै आएको भए पनि कक्षा १ देखि ४ कक्षाका विद्यार्थीलाई कक्षा कोठा नपुगेका कारण खुला आकाशमुनि पढाउनुको विकल्प नभएको विद्यालयको भनाइ छ । वडा अध्यक्ष विष्णु कुमार महतोले कार्यपालिकाको बैठकले निर्माण कम्पनीलाई बाँकी रहेको रकम भुक्तानी दिने विषयमा छलफल भइरहेको बताउँदै बक्यौता रकम बारे चाडै कुनै ठोस निर्णय हुने र तालाबन्दी पनि खुल्ने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News