२०८० आश्विन १५, सोमबार १५:५०

नेशनल पेमेन्ट गेटवे खरिद प्रक्ररणमा बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा छ वर्षअघि नेशनल पेमेन्ट गेटवे खरिदमा २३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर छ । उनीहरूविरुद्ध विशेष अदालत काठमाण्डाैमा आज साेमवार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

अख्तियारले नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा अहिलेका उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा र राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

छ वर्षअघि खरिद गरिएको नेशनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । आवश्यक पूर्वाधार नै तयार नगरि अस्वाभाविक लागत तयार गरी २५ करोडमा पेमेन्ट गेटवे प्रणाली खरिद गरी सरकारको सम्पत्ति हानी/नोक्सानी गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान शुरु गरेको हो ।

Comment

Related News

Latest News

Trending News