
२६ दिनदेखि बेपत्ता रहेका अजिमुद्धिनको शव फेला परेको छ ।
सप्तरीको खडक नगरपालिका ११ बनौली स्थित पोखरीमा तीन दिन अघि बोरा भित्र कुहिएको अवस्थामा भेटिएको शव बेपत्ता रहेका सोही वडा निवासी मो. अजिमुद्धिनको भएको खुलासा भएको छ । १८ वर्षीय अजिमुद्दिन गत भदौ २१ गतेदेखि बेपत्ता रहेका थिए । परिवारजन तथा प्रहरीले खोजी कार्य तीब्र बनाएका बेला तीन दिन अघि हत्या गरी बोरामा राखेर फालेको अवस्थामा उनको कुहिएको शव स्थानीय राम प्रसाद यादवले संचालन गर्दै आएका कृषि फर्मको पोखरीबाट प्रहरीले फेला पारेको थियो । यसबारे सोमबार प्रहरीले घटना विवरण सार्वजनिक गर्दै प्रेम प्रसंगको विषयलाई लिएर यस्तो क्रुर एवं त्रासद घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यको भनाइ छ ।
अपराधीले हत्या घटना लुकाउन र शव गायब पार्न हत्या पश्चात मृत शरीरलाई बोरामा प्याक गरेर सिमेन्टको पोलमा बाँधी त्यस माथी ट्याक्टरमा प्रयोग हुने फलामको रिमले थिचेर पोखरीमा राखेको उनले बताए । उनले एक बालिकासँग भएको प्रेम सम्बन्धकै कारण अजिमुद्दिनको हत्या भएको खुल्न आएको बताउँदै हत्या घटनामा संलग्न भएको आरोपमा सोही वडाकी ३० वर्षीया बिना देवी यादव, ३४ वर्षीय राम प्रकाश यादव, ३६ वर्षीय डम्बर नारायण साह र ४० वर्षीय छोटेलाल भन्ने धर्मदेव साह पक्राउ परेको जानकारी दिएका छन् । पक्राउ परेकामध्ये एकजना मृतकको प्रेम सम्बन्धमा रहेकी बालिकाकी आमा र अर्को काका रहेको प्रहरीको भनाइ छ ।
पोष्टमार्टमका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको शवको परीक्षण रिपोर्ट प्राप्त भएपछि बोरा भित्र फेला परेको कुहिएको शव अजिमुद्दिनकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले बताए । “पोखरीमा भेटिएको शव अजिमुद्दिनकै हुन सक्ने यस अघि नै अनुमान गरिए पनि अन्तिम परीक्षणको रिपोर्ट प्राप्त भए पछि मात्रै सबै सत्यतथ्य सार्वजनिक गरिएको उनले बताए ।”
यस्तो छ घटना
मृतकका दाजु मो. मजिदका अनुसार गत भदौ २१ गते बुघबाारका दिन कृष्णाजन्माष्टमीका अवसरमा गाउँमा लागेको मेला हेर्न जान्छु भनि निस्केका अजिमुद्दिन त्यस दिन घर फर्केनन् । घर नफर्केपछि परिवारजनले भोलि पल्ट बिहानैदेखि अजिमुद्दिनले बोक्ने ९८१८९८७६९८ नम्बरको मोबाइलमा सम्पर्कको प्रयास शुरु गरे । तर मोबाइल स्वीच अफ बतायो ।
त्यसपछि चिन्तामा डुबेका परिवारजनले अजिमुद्दिनका साथी, छर छिमेक तथा चिनजानका सबैमा जानकारी गराइ खोज तलास तीब्र बनाए । तर, कतै कुनै सुराक नपाएपछि अजिमुद्दिनको अवस्था पत्ता लगाइदिन परिवारजन प्रहरीमा पुगेका थिए । मृतकका दाजु मजिदले भाईसँगै मेला गएका उनका एकजना साथीसँग भाईको अवस्थाबारे बुझ्दा उनले सोही राति नै मेला भरेर फर्किदा एकजना केटी साथीसँग भेट्न जान्छु भनि आफूसँग अजिमुद्दिन छुटिएको र त्यसपछि कता गयो भन्ने कुरा आफूलाई केही थाहा नभएको बताएको प्रहरीलाई जानकारी गराएका थिए ।
स्थानीय हिरा फेकनी मावि बनौलीबाट यसै वर्ष एसईई परीक्षा दिएका अजिमुद्दिनको त्यही विद्यालयमा कक्षा ८ मा पढ्ने एक बालिकासँग गहिरो प्रेम परेको र सोही प्रेम उनको हत्याको कारण बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।