अपडेट 
२०८० आश्विन १६, मंगलवार १५:४३

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि तीन दशमलव नाै प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने विश्व बैंकको प्रतिवेदनले आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति बिस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने जनाएको हो ।

सरकारले भने यो आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गएकाे आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि एक दशमलव नाै प्रतिशत मात्रै भएको थियो । विश्व बैंकले आउँदो वर्ष भने नेपालको आर्थिक वृद्धि पाँच प्रतिशतमा पुग्ने अनुमान गरेको छ । तर नेपालमा मनसुनका कारण कृषि उत्पादन घट्नसक्ने, वस्तुको मूल्यवृद्धि उच्च हुनसक्ने तथा भारतले केही सामानमा निर्यात प्रतिबन्ध गरेकाले त्यसको असर आर्थिक वृद्धिमा देखिनसक्ने जोखिम पनि रहेको विश्व बैंकले जनाएको छ ।

यस्तै यस वर्ष मूल्यवृद्धि बढ्ने विश्व बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा छ दशमलव पाँच प्रतिशत मूल्यवृद्धि हुने जनाए पनि विश्व बैंकले भने साढे सात प्रतिशत मूल्यवृद्धिको प्रक्षेपण गरेको छ ।

यो वर्षको दक्षिण एसियाको आर्थिक वृद्धि पाँच दशमलव आठ प्रतिशत हुने र विश्वका अरू क्षेत्रको तुलनामा दक्षिण एसिया केही सहज अवस्थामा रहेको रिपोर्टमा उल्लेख छ । दक्षिण एसियामा सबैभन्दा उच्च आर्थिक वृद्धि भारतको छ दशमलव तीन प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।

Comment


Related News

Latest News

Trending News