
जनकपुरधाम । उत्तेजक अभिव्यक्ति दिइ हिंसा मच्चाउन खोजेको आरोपमा पक्राउ गरिएका श्रीनिवास आचार्यलाई बिना सर्त रिहा गर्न माग गर्दै जनकपुरधाममा साधुसन्तले विरोध प्रदर्शन गरेका छन् ।
श्रीनिवासलाइ पक्राउ गरी हिन्दू धर्म माथि सरकारले प्रहार गर्न खोजेको भन्दै जानकी मन्दिर परिसरमा साधुसन्त तथा हिन्दू अभियानीहरुले विरोध जनाउँदै नाराबाजी गरेका छन् । श्रीनिवासलाई सुनसरीको प्रकाशपुरबाट केन्द्रीय अनुसन्धान ब्यूरो र क्षेत्रीय अनुसन्धान ब्यूरो रिटको टोलीले मंगलबार पक्राउ गरिएको छ । उनले एक साता अघि गौ हत्याको विषयमा हिंसात्मक अभिव्यक्ति दिएको भन्दै सोही अभिव्यक्तिलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पूर्जी जारी गरेको प्रहरीले जनाएको छ । उनलाई बुधबार धनुषा पठाइने प्रहरीले बताएको छ । सुनसरीको प्रकाशपुर आश्रममा बस्दै आएका आचार्य यस अघि आफैलाई गोली हान्न लगाइ धार्मिक द्वेष फैलाउन खोजेको अभियोगमा पक्राउ परेका थिए ।