
पर्साको जगरनाथपुरमा भएको एक महिलाको हत्याको उनकै जेठाजुले गरेको तथ्य खुलासा भएको छ ।
दुइ हप्ता अगाडि घरभित्रै शव भेटिएकी महिलाको हत्या उनकै जेठाजुहरुले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । असोज २३ गते जगरनाथपुर गाँउपाालिका वडा नम्बर ५ मसिहानीका स्वर्गीय सनिक राउतकी पत्नी ५६ वर्षीया कान्तीदेवी बिनको घाँटी रेटेर हत्या गरिएको अवस्थमा शव घरभित्रै भेटिएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घटना विवरणसहित हत्याका आरोपित तीनै जनालाई पर्सा प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा मृतकका जेठाजु ५९ वर्षीय चन्द्रिका राउत बिन र ५७ वर्षीय अमेरिका राउत बिन रहेका छन । सोहि घटनामा संलग्न मसिहानीकै ३६ वर्षीय लालबाबु राउत बिनलाईसमते प्रहरी सार्वजनिक गरेको छ । घटना विवरणबारे जानकारी गराउदै पर्सा प्रहरीले लालबाबुलाई असोज ७ गते तथा चन्द्रिका र अमेरिकालाई असोज १४ गते पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमलविक्रम शाहले बताए ।
प्रहरी उपरिक्षक शाहका अनुसार, ‘ १ गते राति आरोपित तीनैजना कान्तिदेवीको घरमा चोरी गर्ने उद्देश्यले सुरुङ खनेर पसे पछि घरमै सुतिरहेकी कान्तिदेवीले चिनेपछि पोल खुल्ने डरले कान्ति देवीको हत्या गरिएको हो ।’ कान्तिदेवीको टाउकोमा रड र काठको फलेकले प्रहार गरेपछि कान्तिदेखि बेहोस भएकी थिइन । त्यसपछि उनको सिरानीले मुख थुनेर खुर्पी (धारिलो हतियार) ले घाँटी रेटेर हत्या गरेको लालबाबुले आफ्नो बयानमा स्वीकारेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए । उनका अनुसार, मृतकका एक्ला छोरा अर्जुन मुखिया बिन वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेका छन् ।
नारायणी अस्पतालमा पोष्टमाटम पछि शव, पक्राउ परेका जेठाजु चन्द्रिकाले नै बुझेर लगी दाहसंस्कार गरेका थिए । आमाको मृत्युको खबर पाएर घर फर्किएका मृतक कान्तिदेवीका छोरा अर्जुनले असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिएपछि त्यहि दिन प्रहरीले लालबाबुलाई पक्राउ गरेको थियो ।