अपडेट 
२०८० आश्विन १८, बिहीबार ०७:३८

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को पदाधिकारी बैठकमा शीर्ष नेताहरुको चर्को आलोचना भएको छ ।

गत हप्ता विस्तार गरिएको केन्द्रीय समितिपछि पहिलो पटक बसेको पदाधिकारी बैठकमा शीर्ष नेताहरुले संगठनलाई पारिवारिक क्लव बनाउनु भन्दा जनतामा लाग्नुपर्नेमा सहभागीहरुले जोड दिए । लोसपाका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको सो बैठकमा ५२ जना पदाधिकारीहरुको सहभागिता रहेको थियो । अध्यक्ष ठाकुरले गत हप्ता ३ सय ११ सदस्यीय केन्द्रीय समिति गठनको घोषणा गरेका थिए । त्यस मध्ये ६४ जनालाई पदाधिकारी बनाइएको छ । अध्यक्ष ठाकुरले सम्धी उमाकान्त झा र सम्धिनी इन्दरा झालाई पदाधिकारी बनाएपछि पार्टी भित्र चरम असन्तुष्टि देखिएको बताइएको छ ।

काठमाण्डुको क्वालिटी पार्टी प्यालेसमा मंगलवार र बुधवार चलेको बैठकमा देशको समसमायिक अवस्था, संगठन सुदृढीकरण र विविध गरी प्रमुख रुपमा तीनवटा प्रस्ताव उपर छलफल भएको वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले जनाए । बैठकमा सहभागी पदाधिकारीहरुले देशको अवस्था अत्यन्त खराब रहेको ठहर गर्दै चिकित्सक, शिक्षक, कर्मचारी, धार्मिक नेताहरु सडकमा उत्रेको र सामाजिक सद्भाव खल्बलिएको बारे गहन छलफल भएको सोनलले बताए । देशमा भ्रष्टाचार बढेको, आर्थिक अवस्था दयनीय रहेको, किसानहरु बेहाल रहेकाले सरकार समग्ररुपमा असफल रहेको कतिपय पदाधिकारीहरुले बताएका थिए । बैठकमा संघीय सरकारका श्रम मन्त्री समेत रहेका वरिष्ठ नेता शरतसिंह भण्डारी पनि सहभागी थिए । पदाधिकारीहरुले सरकारको पनि कडा आलोचना गरे । उनीहरुले संघीय र प्रदेशमा भ्रष्टाचार बढेकाले महँगीको मारमा आमनागरिक परेको बताए ।

सरकार र लोसपाबीच भएको ८ बुँदे सहमतिलाई कार्यान्वयन गराउन शीर्ष नेताहरुले सरकारमाथि दबाब बढाउनु पर्ने पदाधिकारीहरुले सुझाव दिएको महासचिव परमेश्वर साहले बताए । ‘पार्टी संगठनलाई टोलसम्म पु¥याउन नेताहरुको सक्रियता बढनु पर्छ’ उनले भने, २ वर्षदेखि पार्टी‘स्लिपिंग मोड’मा रहेको थियो । पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठक चाँडै डाक्न नेताहरुलाई आग्रह गरिएको छ । ‘स्लिपिंग मोड’मा गएको लोसपालाई ‘मोड’ परिवर्तन गरी ‘एक्टिव मोड’मा ल्याउने प्रयास भइरहेको साहले बताए । संगठनलाई जीवन्त बनाउन सहभागीहरुले पारिवारिक घेरा भन्दा अगाडि बढन आलोचनात्मक सुझाव दिएको बताइएको छ । पर्टीको केन्द्रीय समितिका लागि योग्य रहेका कतिपय नेताहरु छुटेकाले उनीहरुलाई समेत समितिमा थप्नुपर्नेमा सहभागीहरुले जोड दिएको महासचिव साहले बताए ।

बैठकमा राखिएका प्रस्तावहरु उपर आएको सुझावहरुलाई बिहीबार सार्वजनिक गरिने उनले बताए । झण्डै १८ वर्षदेखि ठाकुर अध्यक्ष रहेका छन् । तर हालसम्म उनले पार्टीको महाधिवेशन गराएका छैनन् । पार्टीलाई आफूखुशी सञ्चालन गर्ने ठाकुर प्रवृत्तिले अधिकांश संस्थापक नेताहरुले साथ छाडिसकेका छन् । बैठकमा पार्टीको विधान अधिवेशन र त्यसपछि महाधिवेशन गर्न सहभागीहरुले दबाब दिए ।‘खल्तीमा राखेर संगठन चल्न सक्दैन्’ सहभागीहरुको भनाइ उद्घृत गर्दै एकजना पदाधिकारीले भने, विधान बनाएर उदारतापूर्वक संगठन गरे मधेशमा अझै अवस्था राम्रो हुन सक्छ ।

बैठकमा वरिष्ठ नेता राजेन्द्र महतो, अनिल झा लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News