
भडकाउ भाषण गरेको अभियोगमा सुनसरीबाट पक्राउ परेका धर्मगुरु श्रीनिवासलाई बुधबार धनुषा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको पक्राउ पुर्जीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो सहितको टोलीले उनलाई मंगलबार सुनसरीमा पक्राउ गरेको थियो । श्रीनिवासलाई प्रहरीले बुधबार धनुषा पठाएको छ । हाल उनी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका छन् ।
गौ हत्या रोक्न माग गर्दै भएको एउटा धार्मिक कार्यक्रममा उनले हिंसात्मक भाषण गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो । धर्मगुरु श्रीनिवास आचार्यलाई प्रहरीले पक्राउ गरेको प्रति गम्भीर आपत्ति प्रकट गर्दै जनकपुरधामका साधुसन्तहरुले बिना शर्त उनको रिहाइ नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
रामानन्दीय बैष्णव संघले बुधबार पत्रकार सम्मेलनमार्फत धर्मगुरु श्रीनिवास आचार्यलाई यथाशीघ्र बिना सर्त रिहाइ गर्न माग गर्नुका साथै त्यसो नभए सम्पूर्ण साधुसन्त र हिन्दूवादीहरुले विरोध र आन्दोलन गर्ने चेतावनी दिएका छन् । रामानन्दीय बैष्णव संघका अध्यक्ष एवम जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले सनातन धर्मगुरु श्रीनिवास आचार्यलाई रिहाइ नगरेमा बिहीवार जनकपुरधाममा ¥याली निकालेर प्रहरी प्रशासन विरुद्ध आन्दोलन गर्ने धम्की दिएका छन् ।
श्रीनिवास आचार्यले गौ हत्या गर्नेहरुकाविरुद्ध चर्को अभिव्यक्ति दिँदै आत्मरक्षा स्वरुप खुकुरी देखाएर गौहत्या प्रति टिप्पणी मात्र दिएको भन्दै महन्त दासले गौ हत्या गर्नेलाई हाम्रो देशमा केही नगर्ने तर गौ रक्षाप्रति टिप्पणी मात्र गर्नेलाई पक्राउ गर्नेप्रति घोर भत्र्सना एवम निन्दा गरे । असोज १२ गते गौ हत्याविरुद्व विश्व हिन्दू परिषद्ले निकालेको विरोध ¥याली पछि आयोजित कार्यक्रममा बोल्दै धर्मगुरु श्रीनिवासले हातमा खुकुरी देखाएर गौ हत्या गर्नेविरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए । सोही टिप्पणीहरु सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले मंगलवार साँझ सुनसरीबाट पक्राउ गरी बुधवार साँझ धनुषामा ल्याइएको छ ।
देशभरि नै हिन्दूहरुले गौ हत्याविरुद्ध जुलुस प्रदर्शन गरिरहेकाले श्रीनिवासलाई छुटाउन साधुसन्तहरुले दबाब बढाउन ¥यालीको घोषणा गरेका छन् ।