
बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा अदातलतले एक युवकलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
पाँच वर्ष अघि भएको उक्त घटनाको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि राजविराज कारागारमा रहेका सप्तरीको शम्भुनाथ नगरपालिका ७ का दशन मण्डललाई सप्तरी जिल्ला अदालतले ८ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार बलात्कार घटनामा मण्डललाई दोषी ठहर गर्दै ८ वर्ष कैद तथा १ लाख क्षतिपूर्ति भराउन समेत फैसला गरेको इजलास अधिकृत कुमार सुवेदीले जानकारी दिए ।
२०७५ साल साउन ५ गते बाख्रा चराउन गएकी सोही पालिकाकी एक बालिकालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले मुद्दा दर्ता गरी मण्डलको खोजतलास सुरु गरेको थियो । त्यसपछि फरार रहेका मण्डल घटनाको चार वर्षपछि २०७९ साल चैत १ गते स्वयम अदालतमा उपस्थित भएपछि पुर्पक्षका लागि कारागार चलान भएका थिए । पीडितको उजुरीको आधारमा बालिकाको स्वास्थ्य परीक्षण गराउँदा बलात्कार भएको पुष्टि भएपछि प्रहरीले उनीमाथि जबर्जस्ती करणी मुद्दा चलाएको थियो ।